स्वास्थ्य क्षेत्रमा धेरै बेथिती छन्, थितीमा ल्याउने छुँः मन्त्री ढकाल

Share post:

महेन्द्रनगर ।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रमा बेथिती व्याप्त रहेको बताएका छन् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बेथिती व्याप्त रहेको बताउँदै मन्त्री ढकालले ती बेथितीलाई आफ्नो कार्यकालमा थितीमा ल्याउने दाबी गरे ।

‘यसअघिका मन्त्री लगायत विभिन्न कारणले स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ, बेतिथी धेरै छन्, यसलाई थितीमा ल्याउने जिम्मेवारी म मा आएको छ ।’

बुधवार नेकपा कञ्चनपुरले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले भने,‘अस्तव्यस्त स्वास्थ्य क्षेत्र सुधार्ने जिम्मेवारीे छ, यसअघिका मन्त्रीहरुले केही राम्रो गरेनन्,

त्यसैले पनि मलाई केही गरेर देखाउने उपयुक्त समय छ, विगतमा केही गरेको भए मेरो भूमिका नै हुने थिएन ।’ बिचौलियाका कारण अधिकांश स्वास्थ्य संस्थामा खरिद गरिएका उपकरण काम नलाग्ने अवस्थामा रहेको उनले बताए ।

‘अस्पताल तथा स्वास्थ्य संस्थामा औजार, उपकरण खरिद गरिन्छ, प्रयोग गरिदैन्,’ उनले भने, ‘अधिकांश औजार÷उपकरण कमिशनमा खरिद गरिँदो रहेछ, अब यस्ता काम गर्न दिदैनौँ ।’

आफ्नो भाषणको धेरै समय कार्यकर्तालाई निर्देशन तथा सरकार र पार्टीको बचाउमा खर्चेका मन्त्री ढकालले बोल्ने भन्दा पनि अहिले केही गर्ने बेला रहेको बताए ।

नेकपाका नेता समेत रहेका मन्त्री ढकालले नेकपाको एकतामा कुनै बाधा सृजना नभएको जिकिर गरे । स्थानीय तहका जनप्रतिनिधिहरुसंग समय कम भएकाले आफ्ना चुनावी प्रतिवद्धता अनुसार काम गर्न उनले सुझाए ।

‘केपी ओली र प्रचण्ड जीले माथी जति राम्रो काम गरे पनि हुदैन, तलदेखि नै राम्रो काम गर्दै जानु पर्छ ।’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत सम्हालिरहेका ढकालले भने, ‘एकताले राष्ट्र जनतामाथी महत्वपूर्ण योगदान दिएको छ, स्थानीय तहका जनप्रतिनिधिले पनि प्रतिवद्धता अनुसार काम गर्नु पर्छ, समय धेरै कम छ ।’

स्वास्थ्य क्षेत्रको बेथितीलाई सुधार गर्दै सेवा प्रदान र डाक्टर अभाव रहेको अस्पतालमा डाक्टर पठाउने काम तत्काल सुरु हुने उनको दाबी छ ।

ताजा समाचार