कञ्चनपुरमा टिप्परले किचेर युवती मृत्यु प्रकरणः अधुरै रह्यो विवाह गर्ने सपना !

Share post:

महेन्द्रनगर ।
टिप्परले किचेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिकै चम्मन चोकमा टिप्परले किचेर बिहिवार दिउँसो एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेन्द्र बहादुर चन्दले बताए ।

मृत्यु हुनेमा बैतडीको दशरथ चन्द नगरपालिका–१ गुरुखोला पुर्खैली घर भएर हाल भीमदत्त नगरपालिका– १६ गोबरिया बस्ने रमिता भट्ट (रोशनी) छन् । पूर्वदेखि पश्चिमतर्फ गिट्टी बोकेर आएको से १ क ८८७ नम्बरको टिप्परले किचेर साइकलमा सवार रमिताको घटनास्थलमा नै मृत्यु भएको थियो ।

महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसमा अध्ययनरत भट्ट आफ्नै विवाहको निमन्त्रणा पत्र बाड्दै हिडेको परिवार स्रोतले जनाएको छ । साथीहरुलाई आफ्नो विवाहको कार्ड बाड्न जाँदा टिप्परले किचेर मृत्यु भएको हो ।

परिवार स्रोतका अनुसार उनको माघ १३ गते विवाहको तयारी थियो । तर रमिताको जीवनमा टिप्पर काल बनेर आयो । प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा परी घाइते रमितालाई टिप्परको पछाडीको पाङग्राले किचेको थियो ।

टिप्पर र टिप्पर चालक जयराज पनेरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको डिएसपी चन्द बताउँछन् ।

तनावग्रस्त महेन्द्रनगर, ४ प्रहरी घाइते
घटना पछि महेन्द्रनगर तनावग्रस्त रह्यो । घटनास्थल महेन्द्रनगरको चम्मनचोकमा स्थानीय सर्वसाधरणहरु घटना घटेपछि आक्रोशित थिए ।

बढ्दो टिप्पर आतंक तथा मुचुल्का नबनाएर नै शव उठाएको भन्दै स्थानीय सर्वसाधरणहरुले ढुंगामुढा प्रहार समेत गरे । स्थानीय सर्वसाधरणले प्रहार गरेको ढुङगामुढा लागेर ४ जना प्रहरी घाइते भएका छन् । घाइते हुनेहरुमा भगवती भट्ट, गणेश बोहरा, लोचन बहादुर चन्द र सन्तोषी जोशी छन् ।

उनिहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको खुट्टा, मुख, हात र टाउकोमा चोट लागेको छ । घटनाको बिरोध तथा प्रहरीले मुचुल्का नबनाएरै शव उठाएको भन्दै स्थानीयहरुले टायर बाल्दै नाराबाजीका साथै टिप्परमा ढुङ्गामुढा प्रहार गरे ।

उग्र बन्दै गएको स्थितीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

घटनास्थलको सडकखण्डमा स्थानीय सर्वसाधरणहरुले टायर बालेर बिहिवार बेलुका आवतजावत समेत ठप्प पारेका थिए । पीडित परिवारले दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

सम्बन्धित सामाग्री

ताजा समाचार