कञ्चनपुरमा टिप्परको अत्याधिक चापले दुर्घटनाको खतरा, दुर्घटनामा परी १३ जनाको मृत्यु

विज्ञापन

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरमा टिप्पर लगायत ठुला सवारी साधनले सडक दुर्घटनाको खतरा बढेको छ ।

सामान्यतया नदीजन्य पदार्थ (गिट्टी, बालुवा ) ओसारपसारमा प्रयोग हुने टिप्पर, ट्याक्टरको अन्याधिक चापले गर्दा सडक दुर्घटनाको खतरा बढेको छ ।

महाकाली नदी लगायत विभिन्न नदीबाट नदीजन्य पदार्थ ओसारपसार गर्नका लागि प्रयोग हुने टिप्पर तथा ट्याक्टरको अत्याधिक चापले गर्दा स्थानीय सर्वसाधारणहरु सडकमा यात्रा गर्न नै डराउँछन् ।

‘विद्यालय जाने र आउने बेला स–साना बालबालिकालाई निकै डर छ, स्पीडले धेरै गाडी आउँछन् ।’ कृष्णा भट्टले भनिन् । यहाँका सडकखण्डहरुमा चल्ने टिप्पर र ट्याक्टरको त्रासमा स्थानीय सर्वसाधारणहरु यात्रा गर्न बाध्य छन् ।

मदनचोक–झोलुङे पुल, बजार क्षेत्र र महेन्द्र राजमार्गमा टिप्पर र ट्याक्टरको अत्याधिक चाप तथा तीव्र गतिमा हाकिने सवारी साधनको त्रासले यात्रुहरु यात्रा गर्न डराउने गरेका छन् ।

बिहिवार दिउँसो महेन्द्रनगरको चम्मनचोकमा टिप्परले किचेर बैतडीको गुरुखोला घर भएर हाल भीमदत्त नगरपालिका–१५ गोबरिया बस्ने रमिता भट्टको मृत्यु भएको थियो ।

कञ्चनपुरमा ६ महिनाको अवधिमा भएका ४४ वटा सवारी दुर्घटनाबाट १३ जनाको मृत्यु भयो । ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को ६ महिनाको अवधिमा जिल्लाको विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको थियो ।

६ महिनाको अवधिमा ११ टिप्पर, ट्रक, बस, जीप, ट्याक्टर दुर्घटनामा परे । नियमित चेकजाँच तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेकाले बिगतको तुलनामा सडक दुर्घटनामा घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश केसी दाबी गर्छन् ।

उनका अनुसार जिल्लाका विभिन्न ठाउँमा भएका ४४ वटा सवारी दुर्घटनाबाट १३ जनाको मृत्यु, २२ जना गम्भिर घाइते र ११ जना सामान्य घाइते भए ।

‘शुक्लाफाँटा र कृष्णपुर नगरपालिका अन्तर्गत पर्ने राष्ट्रिय निकुञ्जको क्षेत्रमा सबैभन्दा बढि दुर्घटना भएको देखिन्छ ।’ प्रहरी निरीक्षक केसीले भने, ‘सो क्षेत्रमा दुर्घटना न्यूनिकरणका लागि विभिन्न पक्षसंग समन्वय गरेर नयाँ योजनाका साथ अगाडि बढ्दै छौँ ।’

तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने तथा छाडा चौपायाले गर्दा दुर्घटना हुने गरेको उनी बताउँछन् । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार श्रावणमा २ दुर्घटनाबाट १ जना, असोजमा ३ सवारी दुर्घटनाबाट २ जना, कार्तिकमा ६ दुर्घटनाबाट २, मंसिरमा ९ सवारी दुर्घटनाबाट ४ र पुसमा भएका २४ दुर्घटनाबाट ४ जनाले ज्यान गुमाउनु प-यो ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढि (२९ वटा) मोटरसाइल दुर्घटनामा परेका छन् । सडक दुर्घटना न्यूनिकरण गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

जिल्लाका विभिन्न ठाउँमा चालक, विद्यार्थी, गाडी व्यवसायी लगायतसंग छलफल, अन्तक्रियाका साथै विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरिएको प्रहरी निरीक्षक केसीले बताए । टिप्पर र ट्याक्टरको अत्याधिक चापले गर्दा दुर्घटनाको खतरा बढेकाले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

*फोटोः बिहिवार महेन्द्रनगरमा टिप्परको ठक्करले मृत्यु पछिको अवस्था

ताजा समाचार