कोरोना भाइरसको नेपालमा जोखिम कति, जोगिन के गर्ने ?

Share post:

काठमाडौं । चीनमा देखिएको कोरोनाभाइरस नेपालमा पनि देखिएको छ । तर, चिकित्सकहरूले नेपालमा देखिएको भाइरस विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको बताएका छन् ।

शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सकहरूका अनुसार अहिलेसम्म यो रोगको संक्रमणबाट ७० वर्षभन्दा माथिका र दीर्घरोगीको मात्रै मृत्यु भएकाले यसको जोखिम हल्ला खतरापूर्ण छैन । नेपालीमा यस रोगका बारेमा धेरै जानकारी नभएकाले पनि चिन्ता बढेको छ ।

सरुवा रोग अस्पतालका चिकित्सक डा। बाशुदेव पाण्डेले सुरुमा स्वाइनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र श्‍वासप्रश्‍वासमा समस्या देखिने जस्ता लक्षण देखिन सक्ने बताए । यी लक्षण देखिए पनि चिन्ता लिनुपर्ने अवस्था नरहे पनि चेकअपका लागि अस्पताल जान उनले आग्रह गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नेपालमा एक जना कोरोनाभाइरस संक्रमित फेला परेको पुष्टि गरेको थियो । अहिले उनको सम्पर्क कोसँग भएको थियो भनेर उनको सम्पर्कका अन्य व्यक्तिहरूको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरसले महामारीको रुप लिइरहेकाले सबैले सजकता भने अपनाउनु पर्छ । कोरोनाभाइरसबाट जोगिन नियमित रूपमा साबुनपानीले हात धुने, खोक्दा र हाच्छ्यूँ गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ । यस्तै फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपक्षीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने गर्नुपर्छ ।

हात मिलाउने बानी कम गर्ने र कतै बाहिर निस्किँदा माक्सको प्रयोग गर्ने गर्नुपर्छ ।

यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । रोगको प्रकार र यसको खास औषधी पनि पत्ता नलागेकाले यसलाई जोखिमको रुपमा लिइएको छ ।

ताजा समाचार