महेन्द्रनगर ।
कञ्चनपुरका नदी, खोला नालाबाट ढुंगा, बालुवा र गिट्टी उत्खनन् तथा चोरी निकासी बढ्दै गएको छ । खोलानालाको प्रभावकारी अनुगमन नहुँदा निर्माण सामाग्रीको उत्खनन् तथा चोरी निकासी बढ्दै गएको हो ।
जिल्लाका विभिन्न नदीहरुबाट अवैध रुपमा नियम विपरित नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ । तर अहिलेसम्म पनि अनुगमन भएको छैन ।
अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको भए पनि अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको समितिले भने हालसम्म पनि ‘औपचारिक’ अनुगमन गरेको छैन् ।
कञ्चनपुरका सबैजसो स्थानीय तहमा नियम विपरित अवैध उत्खनन भइरहेको स्थानीयको भनाइ छ । कृष्णपुर नगरपालिकामा पर्ने बण्ड र मछेली खोलामा मापदण्डविपरीत निर्माण सामग्री उत्खनन् भइरहेको स्थानीय बताउँछन् ।
यो पनि पढ्नुहोस्ः महाकाली नदीका स्थानीय तहका छुट्टा छुट्टै ठेक्का
पहिलेको तुलानामा स्थानीय तहमा जनप्रतिनिधि आएपछि बनजंगल अतिक्रमण र अवैध रुपमा खोलानालाबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन् गरी चोरी निकासी हुने क्रम बढेको स्थानीय गडबिजला सामुदायिक वनका हेरालु दलबहादुर विष्ट बताउँछन् ।
उनका अनुसार खोलामा निर्माण सामग्री उत्खननका लागि बनाइएको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) रिपोर्टमा बढीमा डेढ मिटर गहिराइसम्म मात्रै उत्खनन् गर्न पाउने उल्लेख छ । तर, त्यहाँ उल्लेख भएभन्दा ३/४ गुणा गहिरो खनेर मनपरी ढंगले ढुंगा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको छ ।
नदीको बहाव नै परिवर्तन गर्ने गरी मछेली खोलामा निर्माण सामग्री उत्खनन् भइरहेको स्थानीय तथा कृष्णपुर नगरपालिका–२ का वडा सदस्य तुलुुसीदेवी कलौनीले बताइन् ।
‘यहाँ मापदण्ड मिचेर निर्माण सामग्री उत्खनन् भइरहेको छ, जथाभावी रूपमा भइरहेको उत्खननले नजिकका बस्ती समेत जोखिममा छन्,’ उनले भनिन् ।
मछेली खोलामा पुल छेउबाट निर्माण सामग्री उत्खनन् हुँदा पुलसमेत जोखिम उनि बताउँछिन् । सामान्यतया पुलभन्दा ५ सय मिटर टाढा, नदी किनारबाट ५/५ मिटर टाढा र चुरेफेदीबाट २ सय मिटर टाढाबाट मात्रै निर्माण सामग्री उत्खनन गर्न पाइन्छ । यो मापदण्डविपरीत यहाँ उत्खनन भइरहेको छ । यहाँका अधिकांश खोला,नाला वन क्षेत्रमै भएका कारण जथाभावी दोहनले वनमा पनि ठूलो असर परिरहेको छ ।
आईईई रिपोर्ट अनुसार महाकाली नदीमा पनि दैनिक बढीमा २ सय ५० घनमिटर मात्रै निर्माण सामग्री निकाल्न पाउने उल्लेख छ । तर, आईईईमा तोकेको मापदण्डभन्दा दैनिक कैयौं गुणा बढी निर्माण सामग्री उत्खनन भइरहेको छ ।
महाकालीमा एकै दिनमा ठूला साना गरी एक हजारको हाराहारीमा ढुवानी साधनहरू चल्ने गर्छन । उता अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको टिमले अहिले सम्म अनुगमन गरेको छैन् ।
‘अहिलेसम्म कारबाहीको दायरामा ल्याइ हाल्ने किसिमको औपचारिक अनुगमन भएको छैन, धेरै ठाउँ हामी आफै गएर ठेक्का सम्झौता र आइइइ अनुसार काम गर्न निर्देशन दिएका छौँ ।’
अनुगमन समितिका सदस्य समेत रहेका जिल्ला समन्वय अधिकारी शिवसिंह भण्डारीले भने, ‘केही दिनमै एउटा जम्बो टोलीले अनुगमन गर्नेछ, यदि मापदण्ड विपरित उत्खनन भएको पाए कारबाहीको दायरामा ल्याउने छौँ ।’
उनका अनुसार केही दिन अगाडि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ लगायतको टोलीले बेदकोट नगरपालिकाको बगुन र छेला खोलामा भइरहेको उत्खननको अवलोकन गरेको थियो ।
सामान्य रुपमा गरिएको सो अनुगमनका क्रममा ठेक्का सम्झौता र आइईई अनुसार उत्खनन गर्न निर्देशन दिइएको थियो । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको अनुगमन टिममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, डिएफओ लगायत सहभागी हुन्छन् ।
सो टोलीले अनुगमनको दौरान नियम विपरित उत्खनन भइरहेको पाएमा कानूनी दायरामा ल्याउँछ । यद्यपी हाल भने अनुगमन टोलीका सदस्यहरुमध्ये केही काम बिशेषले यताउता गएका हुनाले अनुगमनका लागि टोली जुट्न नसकेको र केही दिनमै अनुगमन हुने जिल्ला समन्वय अधिकारी शिवसिंह भण्डारी बताउँछन् ।
उनका अनुसार नदीजन्य पदार्थ उत्खनन्का लागि ठुलो मेसिन (स्काभेटर, जेसिबी) प्रयोग गर्न पाइदैन तर अनुगमन समिति, ठेकेदार र स्थानीय तहबीचको एउटा खोलामा एउटा मेसिन प्रयोग गर्न पाइने सहमति भएको छ ।
अनुगमन निर्देशिका तयार भएकाले सोही अनुसार अनुगनम भएर अवैध तरिकाले उत्खनन भएको पाइमा
कारबाही गरिने उनले बताए ।