मुम्बइ । भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।
सेजल ‘दिल तो ह्याप्पी है’ सिरियलमा सिम्मी खोस्लाको रुपमा अभिनय गर्थिन् । सेजलकी ‘कोस्टार’ अरु के वर्माले लेखेका छन्, ‘अँ यो सत्य हो, म यो समाचार सुनेर अचम्ममा परेको छु । मलाई यो कुरा पत्याउन मुस्किल भएको छ । जब कि, १० दिनअघि मैले उनलाई भेटेको थिएँ, आइतबार ह्वाट्सयापमा कुरा पनि गरेको थिएँ । जब मैले १० दिनअघि भेटेको थिएँ, उनी एकदम ठीक थिइन् ।’
वर्मा सिरियलमा सेजलका भाइ बनेर अभिनय गर्थे । वर्माका अनुसार सेजलको परिवारले शनिबार यो खबर थाहा पाएको हो । उदइपुरबाट आएकी सेजल २०१७ देखि मुम्बइमा बसेर अभिनयमा करिअर बनाउँदै थिइन् । उक्त सिरियलमा अभिनय गर्नुअघि उनी केही विज्ञापनमा देखिएकी थिइन् । सेजलले वेब सिरिज ‘अजाद परिन्दे’मा पनि काम गरेकी थिइन् ।
सेजलको आत्महत्याको कारण विस्तृतमा नखुले पनि भारतीय केही सञ्चारमाध्यमका अनुसार उनी बावुको बिमारका कारण तनावमा थिइन् । सोही कारण आत्महत्या गरेको हुनसक्ने सेजलका साथीको हवाला दिँदै भारतीय मिडियाले समाचार लेखेका छन् ।