काठमाडौं
विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चीनमा मात्र ५६ पुगेको छ । शनिबार भाइरस संक्रमितको उपचारमा संलग्न एक चिकित्सकको पनि ज्यान गएको छ ।
योसँगै आजसम्ममा कोरोना भाइरसकको संक्रमणबाट ज्याउन गुमाउनेको संख्या ५६ पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर संक्रमण फैलिएको ‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा पूर्व सावधानी अपनाइएको जनाएको छ ।
चीनबाट शुरु भएको कोरना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै सरकारले जोखिम बढ्न नदिन सावधानी अपनाएको र सबैमा सचेत रहन समेत आग्रह गरेको छ ।
मन्त्रालयले काठमाडौंका सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाएको जनाएको छ । विदेशबाट आउने यात्रुको उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षण गरी पठाउने व्यवस्था मिलाएको छ ।
यदि कोही यात्रुमा संक्रमणको शंका लागेमा त्यहाँबाट सोझै अस्पताल पुर्याइने व्यवस्था मिलाएको छ । एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।
चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि विभिन्न चिनियाँ शहरहरूमा रहेका नेपालीहरू समेत स्वदेश फर्किन थालेका छन् । उनीहरुलाई विमानस्थलमा उच्च निगरानीमा राखिएको विमानस्थलस्थित हेल्थ डेस्कले जानकारी दिएको हो ।
गत शुक्रबार स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट हालै स्वदेश फर्केका एक नेपाली विद्यार्थीमा संक्रमण देखिएको बताएको थियो। तर ती व्यक्ति हाल निको भएर घर फर्किसकेको बताइएको छ। उनको परिचय भने खुलाइएको छैन।
चीनको सांघाइबाट फर्केका अर्का एक जनामा पनि ‘कोरोना भाइरस’ संक्रमणको आशंका गरी उनलाई हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा छुट्टै कोठामा राखेर उपचार थालिएको छ ।
उनको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाइएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार हाललाई सरकारले कोरोना भाइरस संक्रमितलाई राख्न भनेर तीन वटा अस्पताल तोकेको छ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको प्रवक्ता श्रेष्ठले बताए । ‘कोरोना भाइरस’को संक्रमण भएको व्यक्ति भेटिएमा एक्लै राखेर उपचार गर्नका लागि भने हाल १० वटा मात्रै कोठा रहेको उनले बताए ।
छ वटा कोठा टेकुमा र बाँकि चार पाटन अस्पतालमा तयार पारिएको छ । श्रेष्ठका अनुसार केरुङ नाकामा समेत सतर्कता बढाइएको छ ।