फागुन पहिलो सातादेखि महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला हुने

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा फागुन पहिलो सातादेखि १३ औँ संस्करणको सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ को आयोजना हुने भएको छ ।

उद्योग वाणिञ्ज संघ कञ्चनपुरको आयोजना तथा भीमदत्त नगरपालिकाको सहकार्यमा फागुन ७ देखि १७ गतेसम्म १३ औँ संस्करणको प्रदेशस्तरीय औद्योगिक व्यापार मेलाको आयोजना हुन लागेको हो ।

‘कृषि, पर्यटन र उर्जामा विकास, समृद्ध सुदूरपश्चिम प्रदेशको आधार’ भन्ने मूल नाराका साथ मेलाको आयोजना हुन लागेको उद्योग वाणिञ्ज संघका अध्यक्ष जंगबहादुर मल्लले बताए ।

पर्यटन वर्ष–२०२० र स्थानीय सरकारले पर्यटन वर्षलाई सफल बनाउन अवलम्बन गरेको नीति अंगिगार गरी मेलाको आयोजना गरिएको उनले बताए ।

‘यस क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा प्रवद्र्धनका लागि मेला आयोजना गरिन लागेको छ ।’ आइतवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मल्लले भने, ‘मेलाले पर्यटन प्रवद्र्धन, घरेलु तथा साना मझौला उद्योगहरुले उत्पादन गरेका बस्तुको बजार प्रवद्र्धन, कृषि क्षेत्रको प्रवद्र्धन लगायत क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास लिएका छौँ ।’

मेलामा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, कृषि प्रदर्शनी, गार्मेन्टका उत्पादन, जुत्ता, चप्पल, बैकल्पिक उर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरीय दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्री तथा औजार, सूचना प्रविधि तथा ईलेक्ट्रोन्किस, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवाहरु, सांस्कृतिक कार्यक्रम, हास्यव्यङ्ग, दोहरी, डेउडा, राना थारु नृत्य, नाच प्रतियोगिता, राष्ट्रिय, स्थानीय तथा भारतीय कुमाउनी कलाकारहरुले सांस्कृतिक कार्यक्रमहरु पस्कने, पर्यटन क्षेत्रको विस्तृत जानकारी, डोटेली, थारु तथा रानाहरुका खानाका बिशेष परिकारहरु प्रदर्शनी गरिने छन् ।

फागुन ७ देखि १७ गतेसम्म ११ दिनसम्म सञ्चालन हुने मेलामा १ सय ७० भन्दा बढि स्टलहरु रहने आयोजक उद्योग वाणिञ्ज संघले जनाएको छ ।

सीमावर्ती भारतीय बस्तीका दर्शकहरुसहित झण्डै २ लाख बढिले मेला अवलोकन गर्ने हुनाले यस क्षेत्रको पर्यटन क्षेत्रको व्यापक प्रचारप्रसार हुने आयोजकले विश्वास लिएको छ ।

मेला अवधिभर झण्डै ७ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान रहेको छ । सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ को तयारी तीव्र पारिएको छ ।

महेन्द्रनगरमा आयोजना गर्न लागिएको मेलाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले बताए ।

मेला आयोजना सफलतापूर्वक सम्पन्न गर्नका लागि उद्योग वाणिञ्ज संघका अध्यक्ष जंगबहादुर मल्लको संयोजकत्वमा १ सय ५१ सदस्यिय मूल आयोजक समिति, १६ वटा विषयगत समिति र एउटा सल्लाहकार समिति समेत गठन गरिएको छ ।

ताजा समाचार