महेन्द्रनगर ।
सडक दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनचेतनामूलक कार्यक्रममा जोड दिएको छ ।
टिप्पर, ट्याक्टर लगायत ठुला सवारी साधनले सडक दुर्घटनाको खतरा बढेपछि दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको हो ।
दुर्घटना न्यूनिकरणका लागि आइतवार महेन्द्रनगरका टिप्पर तथा ट्याक्टर चालकहरुलाई ट्राफिक प्रहरी कार्यालयले प्रशिक्षणको आयोजना गरेको प्रहरी निरीक्षक प्रकाश केसीले बताए ।
‘आजको आवश्यकता सुरक्षित यात्राको बनौट, दुर्घटना न्युनिकरण ट्राफिक प्रहरीको अठोट’ भन्ने मूल नाराका साथ पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सञ्चालनमा रहेका टिप्पर र ट्याक्टरका चालक र परिचालकलाई ट्राफिक ऐन, नियमहरुको साथै सडक सुरक्षा सम्बन्धि ज्ञान दिने उद्देश्यले प्रशिक्षक दिइएको उनले बताए ।
उनका अनुसार आइतवार मात्रै १ सय ८० चालक तथा परिचालकलाई प्रशिक्षण प्रदान गरिएको छ । यस्तै भीमदत्त नगरपालिका–४ मदन चोकमा गोलो घुम्ति अंकित ट्राफिक आदेश मुलक चिन्हहरु जडान गरिएको छ ।
कञ्चनपुरमा सडक दुर्घटनाको खतरा बढ्दो छ । बिहिवार दिउँसो महेन्द्रनगरको चम्मनचोकमा टिप्परले किचेर बैतडीको गुरुखोला घर भएर हाल भीमदत्त नगरपालिका–१५ गोबरिया बस्ने रमिता भट्टको मृत्यु भएको थियो ।
ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँमा भएका ४४ वटा सवारी दुर्घटनाबाट १३ जनाको मृत्यु भएको छ ।
सडक दुर्घटना न्यूनिकरण गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ । जिल्लाका विभिन्न ठाउँमा चालक, विद्यार्थी, गाडी व्यवसायी लगायतसंग छलफल, अन्तक्रियाका साथै विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरिएको प्रहरी निरीक्षक केसीले बताए ।