लिलाम नहुदा कञ्चनपुर भन्सार कार्यालयमा थन्किए करोडौँका गाडी

Share post:

महेन्द्रनगर– कञ्चनपुरमा चोरी, तस्करीबाट बरामद गरिएका सवारी साधन लिलाम हुन सकेका छैनन् । मेकानिकल इन्जिनियरको अभावले भन्सार कार्यालयमा रहेका बरामद सवारी साधन लिलाम हुन नसकेका हुन ।

बरामद सवारी साधन पुराना हुन थालेका छन् । यद्यपी करोडौँ राजस्व संकलनको स्रोत रहेका ती सवारी साधन मेकानिकल इन्जिनियरको अभावले लिलाम हुन नसकेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ ।

जिल्लाका विभिन्न क्षेत्रबाट चोरी, तस्करी तथा पैठारीमा प्रयोग हुने गाडीहरुलाई कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लिलाम प्रक्रियामा लैजान सकेको छैन् । विभिन्न अभियोगमा नियन्त्रण लिइने सवारी साधनका लागि हकदाबी गर्न १५ दिने सूचना प्रकाशित गर्ने गरिन्छ ।

त्यसपछि हकदाबीको लागि निवेदन नपरे उक्त सवारी साधन लिलामीको प्रक्रियामा लैजाने गरिएको छ । यद्यपी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गर्ने लिलाम प्रक्रिया भने अन्यौलमा छ ।

सवारी साधन बरामद गरेको एक वर्ष भन्दा बढि समय बितिसक्दा समेत सो गाडी लिलाम गर्ने प्रक्रिया भने सुरु हुन सकेको छैन् । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले सवारी साधनको लिलाम प्रक्रिया सुरु गर्न नसक्दा करौडौँ राजस्व संकलन हुने बरामद सवारी साधन थन्किएका छन् ।

मेकानिकल इन्जिनियरको अभावमा लिलाम प्रक्रिया लम्बिएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका सूचना अधिकारी केशबराज बिष्टले बताए ।

‘सवारी साधन लिलाम प्रक्रिया लामो नै हुन्छ तर मेकानिकल ईन्जिनियरको अभावमा अहिले लिलाम भएको छैन ।’ उनले भने, ‘इन्जिनियरको अभावमा सवारी साधन लिलाम अनिश्चित भएको छ, मूल्याङ्कन गर्नका लागि इन्जिनियर नै नहुँदा यो प्रक्रिया सुरु हुन नसकेको हो ।’

उनका अनुसार भन्सार कार्यालयबाट अन्य बरामद सामानहरुको भने लिलाम प्रक्रिया जारी नै रहको छ । कञ्चनपुरमा चोरी, पैठारीमा संग्लन सवारी साधन बरामद गरेको बर्षाै सम्म पनि लिलाम नगर्दा करोडौँ राजस्व गुम्ने खतरा देखिएको छ ।

लक्ष्य अनुसारको राजस्व संकलनमा चुकिरहेको भन्सार कार्यालयले राजस्व संकलनको एक पक्ष सवारी साधन लिलाम समेत गर्न सकेको छैन् । भन्सार कार्यालय (कञ्चनपुर)ले २०७५ सालको बैशाख–जेठ तिर गरेको सवारी साधन लिलामबाट झण्डै चार करोड राजस्व संकलन गरेको थियो ।

‘यातायातले समातेका राम्रा गाडी थिए, गत वर्ष मोटरसाइकल तथा चार पाङग्रे सवारी साधनको लिलामबाट करिब चार करोड राजस्व संकलन भएको थियो ।’ सूचना अधिकारी बिष्टले भने । कञ्चनपुर भन्सार कार्यालयमा हाल दुई सय २० सवारी साधन रहेका छन् । जसमध्ये पाँच वटा चार पाङ्ग्रे रहेका छन् ।

चोरी–पैठारीका मुद्धा, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेका लगायतका सवारी साधन प्रहरी, यातायात व्यवस्था विभागले नियन्त्रणमा लिएर भन्सारलाई बुझाउँछ ।

सबैभन्दा बढी भन्सार प्रक्रिया पुरा नगरेका भारतीय नम्बरका सवारी साधन रहेका छन् । यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामानहरु चोरी, पैठारी गरिरहेको अवस्थामा नेपाली सवारी साधन समेत नियन्त्रणमा लिइएको थियो ।

मेकानिकल इन्जिनियरको अभावमा रोकिएको सवारी साधन लिलामले लामो समय लिने आकलन गरिएको छ । कैलालीको धनगढीस्थित हेबी इक्युमेन्टमा एक मात्र मेकानिकल इन्जिनियर छन् ।

मेकानिकल इन्जिनियरले गाडीको विभिन्न पार्टपुर्जा हेरी मूल्याङ्कन गर्ने गर्दछ । ‘लिलामको प्रक्रिया लामो नै हुन्छ । मेकानिकल इन्जिनियर आए पछि पनि एक दिनमा १०/१२ गाडीको मात्रै मूल्याङ्क गर्न सक्छ ।’ सूचना अधिकारी बिष्टले भने, ‘गाडीका विभिन्न पार्टपुर्जा हेरेर सवारी साधनको मूल्याङ्क गर्ने गरिन्छ ।’

लिलाम प्रक्रियामा प्रावधिकले भौतिक रुपमा निरीक्षण गरेर प्रतिवेदन तयार पार्ने गर्दछ । सोही प्रतिवेदनका अनुसार मूल्याङ्क समितिले सवारी साधनको मूल्य निर्धारण गरी सूचना जारी गर्ने गरिन्छ ।

तर लिलाम प्रक्रियामा जान ढिलाइ भएपछि सवारी साधनको मोडेल र इन्जिन नम्बर पुरानो हुने गरेका कारण मूल्य कम पर्ने हुदा करोडौँ राजस्व समेत गुम्ने गरेको छ । दुई तीन महिनाभित्र लिलाम प्रक्रिया सुरु हुने भन्सार कार्यालयको दाबी छ ।

राजस्व संकलनमा चुक्यो भन्सार
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लक्ष्य अनुरुपको राजस्व संकलन गर्न सकेको छैन् । चालु आर्थिक वर्ष २०७६/०७७ को ६ महिनाको अवधि अर्थात पुष मसान्तसम्म लक्ष्य भन्दा झण्डै आधा मात्र राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७६/०७७ को पुष मसान्तसम्म २५ करोड १७ लाख ३४ हजार लक्ष्यमा मात्र १८ करोड ५९ लाख ११ हजार राजस्व संकलन भएको सूचना अधिकारी बिष्ट बताउँछन् । अघिल्लो आर्थिक वार्षिकको असुलीको तुलनामा यस आर्थिक वर्षको लक्ष्य ३२.७४ प्रतिशतले वृद्धि गरिएको भन्सार कार्यालयको दाबी छ ।

श्रावणमा लक्ष्य तीन करोड ९० लाख ७६ हजार को ६१.२१ प्रतिशत मात्र राजस्व संकलन भएको सूचना अधिकारी बिष्टले बताए । उनका अनुसार भाद्रमा लक्ष्य चार करोड ८८ लाख ३२ हजारको ६५.५८ प्रतिशत, आस्विनमा लक्ष्य चार करोड ८८ लाख ३२ हजारको ६५.७५ प्रतिशत र कार्तिकमा लक्ष्य तीन करोड ८२ लाख ४३ हजारको ७५.८७ प्रतिशत राजस्व संकलन भएको थियो ।

भारतबाट आउने तरकारी, फलफूलमा रोक लगाउनु, लक्ष्य वृद्धि तथा पक्की पुल नहुदा लक्ष्य अनुसारको राजस्व संकलन नभएको सूचना अधिकारी बिष्ट बताउँछन् । गत आर्थिक वर्ष २०७५/०७६ मा समेत लक्ष्य अनुसारको राजस्व संकलन भएको छैन् । गत आर्थिक वर्षको लक्ष्य ४० करोड १२ लाख ८४ हजारको ९१.४० प्रतिशत अर्थात ३६ करोड ६७ लाख ८८ हजार राजस्व संकलन भएको थियो ।

ताजा समाचार