उमेश कुवँर
हाम्रो समाज अझै पनि विभिन्न खाले विभेदबाट मुक्त हुन सकिरहेको छैन । समाजमा विभिन्न खालका कुरीति अन्धविश्वास अझै कायमै छन् । यस्तै विभेदमध्येको एउटा उदाहरण हो,छाउपडी प्रथा ।
छाउपडी प्रथाको अन्त्य गर्नका लागि केही सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले कहिले काही झल्याक्क–झुलुक्क यस विषयमा बोल्ने गरेका छन् तर विभेद जस्ताको त्यस्तै रहेको पाइएको छ । हामीहरु जो अरुलाई छाउ मान्नु हुन्न महिनावारी हुदा घरमै बस्नु पर्छ भनेर सिकाउछौँ तर आफु भने व्यावहारमा लागु गर्दैनौ ।
‘छाउपडी प्रथाको अन्त्य गर’ भनेर नारा लाउने तपाई–हामी तथा महिला आन्दोलनको नेतृत्व गर्ने महिलाहरू आफू मासिक श्राव हुँदा चार, पाँच दिनसम्म आफैलाई अछुत घोषणा गरेर पर बसेका घटना पनि हामीले देखेका छौँ ।
सरकारी तथा गैसरकारी संघसंस्थाहरु छाउपडीका गोठ भत्काउन गाउँ–गाउँ गए तथा जान्छन् । यति छाउपडी गोठ भत्कायौँ भन्छन् तर आफू फेरि गोठमा नै बस्छन् ।
ब्यानर,प्ले कार्ड अगाडि देखाएर, गाउँका महिलाहरू सहरमा उतारेर, नारा जुलुस गर्न लगाउँछन्, ‘छाउपडी प्रथा अपराध होइन, भगवानको देन हो’ भन्न लगाउँछन् फोटो खिच्छन् । तर समस्या जिउका त्यु नै हुन्छन् । छाउ गोठ भत्काउनु संगैँ ठड्याउनुले यो प्रष्ट पार्छ कि कुनै पनि भौतिक संरचना भत्काउदैमा मन–मस्तिष्कमा गाडिएको संस्कृत या विकृति तोडन सकिदैँन ।
नारा लगाएर,छाउगोठ भत्काएर,छाउगोठमा बसे–बसाले जेल हाल्ने क्रास देखाएर वा जेल हालेर समाधानको बाटो नखोजौ । डर देखाएर छाउगाठ भत्काएपछि आमा तथा दिदिबहिनीहरु ओडार, आगनमा सुतेको देख्दा सरकार तथा विभिन्न संघसंस्थाले झनै अप्ठ्यारोमा पारे जस्तो लाग्छ ।
सरकार सक्छौ भने छाउपडी प्रथाको सकारात्मक सन्देश दिने पाठ्यक्रम लागु गरी हाम्रो समाजमा जडो गाडेर बसेको यो कुप्रथा सबैको मन–मस्तिष्कबाट भत्काउ ।
छाउगोठ भत्काएर कागजमा छाउपडी गोठमुक्त घोषणा गर्ने काम बन्द गरौँ । छाउपडी प्रथाको न्युनिकरण गरे जस्तो नाटक गरी झन दुख दिने काम नगरौँ । छाउपडी प्रथाको दिगो समाधान समयमै न खोजे हामिले अझैँ पहिले भन्दा धेरै आमा ,दिदिबहिनीहरु गुमाउनु पर्ने छ ।