महेन्द्रनगर ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग मर्मतका लागि सडकमा बिछ्याइएको ग्राभेल प्रयोग गरिएको भेटिएको छ । भीमदत्त नगरपालिका–४ भाँसीमा महेन्द्र राजमार्ग मर्मतका लागि त्यही सडकको छेउको ग्राभेल प्रयोग गरिएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले महेन्द्र राजमार्गका खाल्डाखुल्डी भरानका लागि राजमार्ग फराकिलो बनाउन प्रयोग गरिएको ग्राभेल नै उत्खनन गरेको छ ।
सडकको संरचनालाई कुरुप बनाउने किसिमले सडक डिभिजन कार्यालयले सडकमा बिछ्याइएको ग्राभेल उत्खनन गरेर राजमार्गमा भर्ने काम गरेको छ । भिरालो ठाउँबाट ग्राभेल उत्खनन गरेपछि वर्षातको बेला उक्त क्षेत्र जोखिममा छ ।
यो पनि पढ्नुहोस्ः महेन्द्रनगरको शिव मन्दिर–ट्राफिक चोक सडकखण्ड चार लेनको बन्दै
महेन्द्र राजमार्ग फराकिलो बनाउन प्रयोग गरिएको ग्राभेलिङमा गहिरो उत्खनन भएपछि स्थानीय विरोधमा उत्रिएका छन् । सडकको संरचनालाई बिगार्ने किसिमले सडक मर्मत गरिन लागेको स्थानीय बताउँछन् ।
‘सडक बनाउन खोजिएको हो कि बिगार्न ? ग्राभेलिङ गर्नु पर्ने ठाउँमा अझ उत्खनन गरिएको छ, यसले बनाउने होइन, बिगार्न खोजिएको छ ।’ स्थानीय अम्बादत्त भट्टले भने ।
अन्य ठाउँबाट ग्राभेल ढुवानी गरेर मर्मत गर्नु पर्नेमा सडक छेउमा सडक फराकिलो बनाउन प्रयोग गरिएको ग्राभेलिङलाई उत्खनन गर्नु ठिक नभएको स्थानीयको भनाइ छ ।
‘एक टिप्पर ग्राभेल ल्याएर राख्न सकिदैन ? यो ग्राभेलिङ गरे जस्तो देखाएर पैसा खान खोजिएको देखिन्छ ।’ स्थानीय डम्मरदत्त जोशीले भने ।
डिभिजन सडक कार्यालय महेन्न्द्रनगरले आफ्नै कामदार प्रयोग गरेर राजमार्गमा मर्मतको काम जारी राखेको छ । उता सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्गको सो क्षेत्रमा काम गर्दा क्रुटि भएको स्विकार गरेको छ ।
दुर्घटना न्यूनिकरणका लागि राजमार्गको केही क्षेत्रमा ग्राभेल फिलिङ गर्दा गहिरो उत्खनन हुनु नपर्ने तर असावधानीले क्रुटि भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर योगेन्द्र अधिकारीले बताए ।
‘ग्राभेलिङ उत्खनन गर्ने तरिका गलत छ, यहाँ त माटो खोदे जस्तै खोदिएको छ, हामी यसलाई सच्याउँछाँै ।’ उनले भने, ‘हामीले कुनै पनि काम गर्दा ठेक्कामा जानु पर्छ, आफु नै हामी गर्न सक्दैन, त्यसैले सो कार्यमा बजेट नै छैन ।’
उनका अनुसार क्रुटि भएको ठाउँमा नयाँ ग्राभेलिङ गरिने छ । राजमार्ग क्षेत्रमा यस्ता प्रकृतिका कामहरु रोक्न निर्देशन दिएको उनले बताए ।