कञ्चनपुर भीमदत्त नगरपालिका १७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा कञ्चनपुर जिल्ला अदालतले एक शिक्षकलाई १० वर्ष कैद सजाय तोकेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रिन्सिपल सहित अन्य दुई शिक्षकलाई भने सफाई दिएको छ ।
सोमबार जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इलासले शिक्षक लक्ष्मणदत्त भट्टलाई १० बर्ष कैद फैसला गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरजप्रसाद बोहरा, प्रिन्सिपल यशोदा जोशी र शिक्षकद्वय दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई सफाई दिएको छ ।
जिल्ला आदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले सात महिनामा यस मुद्दाको फैसला भएको बताए । १० बर्ष सजाय तोकिएका शिक्षक भट्टले पुनरावेदन गर्न पाउने छन् ।
२५ असारमा मृतक माधवका मामा पुष्पमणी जोशीले अध्यक्ष बोहरा, प्रिन्सिपल जोशी सहित तीन शिक्षक बिरुद्ध ज्यान सम्बन्धी कसुर मुद्दा दायर गरेका थिए ।
यसअघि २१ साउनमा न्यायाशीध बास्तोलाकै इजलासबाट अध्यक्ष बोहराबाट एक लाख, प्रिन्सिपल जोशीबाट तीन लाख धरौटी लिन आदेश भएको थियो । तीनै जना शिक्षक लक्ष्मणप्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिइएको थियो ।
बैतडी शिवनाथ गाउँपालिका २ सर्मली घर भएका कलौनी भीमदत्त नगरपालिका ५ बनगाउँस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए ।
कक्षा ९ मा अध्ययनरत कलौनी १० असारमा गाउँमै विद्यार्थीबीच भएको झगडाको विषयलाई लिएर १३ असारमा विद्यालयमा प्रिन्सिपल सहितका शिक्षकले कुटपिट गरेको भन्दै पीडित परिवारले मुदा दायर गरेका थिए ।