‘ग्याङफाइट’ मा घाइते मुखियाको मृत्यु

Share post:

 

विराटनगर स् मोरङको धनपालनथान गाउँपालिका ४ हरकपुरमा भएको ‘ग्याङफाइट’ मा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मादक पदार्थ सेवन [मापसे] पछि युवाका बीचमा उत्पन्न विवाद गत माघ ४ गते राति ‘ग्याङफाइट’ मा परिणत हुँदा तीन जना घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाका ४२ वर्षीय विसुनदेव मुखियाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा सोमबारराति मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

उनकाअनुसार विसुनदेव, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह र ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह बीच ‘ग्याङफाइट’ भएको थियो ।

घटनामा विसुनदेव, बलराम र किसुन तथा घटना छुट्याउन गएकी १५ वर्षीय जमुनाकुमारी महतो घाइते भएका थिए । न्युरोमा उपचाररत बलराम र विसुनदेवमध्ये विसुनदेवको टाउकोको शल्यक्रिया गरिएको थियो । गोल्डेन अस्पतालमा उपचाररत किसुनको टाउकोमा सात टाँका लगाइएको थियो ।

प्रहरीका अनुसार कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा दुई युवाहरु हरिओम र धनीरामबीच विवाद सुरु भएको थियो । होटलबाट निस्किएर अघि बढेका उनीहरुले फोन गरेर आ-आफ्ना मान्छेलाई बोलाएपछि दुवै पक्षबीच ‘ग्याङफाइट’ भएको अनुसन्धानबाट खुलेको प्रनि दाहालले बताए । दोहोरो कुटाकुटका क्रममा बाँस र ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ ।

प्रहरीले धनीराम, मणिचन, रामविलास, शंकर, हरिओमलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । उनीहरुको पनि शरीरका विभिन्न भागमा सामान्य चोटहरु रहेका थिए । प्रहरीले घटनामा संलग्न मणिचन, रामविलास, शंकर र हरिओम महतो विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ । ‘ग्याङफाइट’ मा संलग्न अरुलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार