संवैधानिक पदहरु बिक्रि हुन थालेका छन्ः संयोजक भट्ट

Share post:

महेन्द्रनगर । राज्यका संवैधानिक पदहरु बिक्रि हुन थालेको राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका संयोजक मनोज भट्टले आरोप लगाएका छन् ।

अखिल नेपाल युवक संघ केन्द्रीय समितिको भ्रष्टाचार र नागरिकता विधेयक विरुद्धको ‘मेची–महाकाली खबरदारी अभियान’ उद्घाटन कार्यक्रममा बोल्दै संयोजक भट्टले सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका हुन ।

‘भ्रष्टाचार राष्ट्रिय संस्कृति नै बनेको छ, जो सुकै पार्टीको सरकार आए पनि भ्रष्टाचार कम भएको छैन, सुशासनको नारा कागजमा नै सीमित भएको छ ।’ उनले भने, ‘राज्यका पदहरु बिक्रि भइरहेका छन्, राजनीतिक भागबण्डा अनुसार राजदूत, न्यायधिस, प्रहरी प्रमुख लगायत संवैधानिक निकायका पदहरु करोडौँमा बिक्रि हुन्छन् ।’

देशमा व्यापमा भ्रष्टाचार संस्थागत हुदै गएको बताउदै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य समेत रहेका भट्टले बिक्रि भएको संवैधानिक पदका व्यक्तिहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए ।

‘अहिले प्रहरी प्रमुख बन्नका लागि दौडधूप छ, प्रहरी प्रमुख सत्ताधारी पार्टी निकटकै हुनेमा कुनै दुविधा छैन, त्यो पद किन्न खर्चेको करोड रकम आफ्नो कार्यकालमा असुल गर्ने मात्र काम हुन्छ ।’ उनले भने, ‘सबैतिर राजनीतिक भागबण्डा अनुसार पदहरु बिक्रि हुन थाले पछि जनता समस्या छन्, न्यायलयमा जाने हो भने न्याय नपाउने अवस्था आएको छ ।’

देशको सम्पूर्ण प्रणाली भ्रष्टाचारमा लिप्त रहेको उनले उल्लेख गरे ।  स्थानीय तहमा झनै भ्रष्टाचार मौलाएको उल्लेख गर्दै संयोजक भट्टले विकासका लागि आएको बजेट कमिसनमा जाने गरेको आरोप लगाए ।

‘विकास निर्माणका लागि छुट्याएको बजेट ठेकेदार, उपभोक्ता समिति अध्यक्षहरुले कमिसनमा सक्काउछन्, अख्तियारको तथ्याङ्कमा नै ८० प्रतिशत विकास बजेट कमिसनमा जाने र २० प्रतिशत रकम मात्र सदुपयोग हुने गरेको उल्लेख गरेको छ ।’ उनले भने ।

यस्तै एक फरक प्रसंगमा बोल्दै संयोजक भट्टले नागरिकता विधेयक पास गरेर देशको नागरिकतालाई बसको टिकट सरह बाड्न खोजेको धारणा राखेका छन् ।

जन्मको आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई वंशज नागरिकता दिएर राष्ट्रिय अखण्डता, सार्वभौवसत्ता धरापमा पार्न खोजिएको उनको भनाइ छ ।

‘भारतलाई खुसि बनाउनका लागि कानून संसोधन गरिदै छ, विचाराधीन नागरिकता विधेयकले कपाल काट्न, काम गर्न, कवाड उठाउन आएर यहाँ बसेका मानिसका सन्तानलाई पनि नागरिक प्रदान गर्ने भनेका छ, यसो गरे भने हामी कहाँ पुग्छौँ ?’ उनले भने, ‘बसको टिकट जस्तो बनाएर नागरिकता बिक्रि गर्नु ठिक होइन, यसले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता खतरामा पर्छ ।’

सरकारले यसप्रति कडा नीति लिनु पर्ने उनले माग गरे । अखिल नेपाल युवक संघ केन्द्रीय समितिले महेन्द्रनगरदेखि भ्रष्टाचार र नागरिकता विधेयक विरुद्धको ‘मेची–महाकाली खबरदारी अभियान’ सञ्चालन गरेका छन् ।

मंगलवार महाकाली अञ्चलको महेन्द्रनगरदेखि सुरु भएको अभियान माघ २९ गते मेचीमा गएर समापन हुने छ ।

‘समृद्धिको बाधक भ्रष्टाचार अन्त्य गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्ने मूलका नाराका साथ भ्रष्टाचार र नागरिकता विधेयक विरुद्धको मेची–महाकाली खबरदारी अभियान सुरु गरिएको अखिल नेपाल युवक संघ केन्द्रीय समितिले जनाएको छ ।

ताजा समाचार