लकडाउनमा विद्यार्थी र अभिभावकको भूमिका

Share post:

–केशव पन्त
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभीड–१९) को महामारीबाट विश्वका २ सय १० राष्ट्र प्रभावित भएका छन् । यो जैविक माहामारीबाट बाच्न विश्वका अधिकांश मुलुक लकडाउनमा छन् । फ्रान्सबाट फर्किएकी युवतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि थप सङ्क्रमण हुन नदिन नेपाल सरकारले समेत पूर्ण लकडाउन गरेको छ । २०७७ साल वैशाख ३ गतेसम्मका लागि लकडाउनको समय तय भएपनि अझै हप्ता दश दिन बढ्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।  शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षा चैत ५ गते सकिएपछि लकडाउनका कारण विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । विद्यार्थीहरुका लागि घर पहिलो पाठशाला र आमाबुबा पहिलो शिक्षक भएकाले लकडाउनको समयमा विद्यार्थीलाई थुप्रै व्यवहारिक ज्ञान आर्जन गर्ने अवसर जुटेको छ । यो समयमा विद्यार्थीहरुले नेपाली र अङ्ग्रेजीका अक्षर सुधारका लागि हस्तलेखनका क्रियाकलाप गर्न सक्छन् । त्यस्तै सामान्य ज्ञान, साहित्यिक पुस्तकहरु, अनुसन्धान मूलक कृतिहरु, विश्व प्रसिद्ध व्यक्तिहरुको जीवनी, सफलताका कथाहरु जस्ता प्रेरक कृतिको अध्ययन गर्न सक्छन् । जसले उनीहरुमा आत्मविश्वास, सिर्जनात्मकता, मौलिकता, व्यावहारिकता जस्ता गुणको विकास गराउछ । त्यस्तै गणित, अङ्ग्रेजी ग्रामर र नेपाली व्याकरणका अभ्यास घरमै बसेर गर्न सकिन्छ । सामाजिक अध्ययनमा आवश्यक पर्ने समयरेखा, वृतचित्र, स्तम्भ चित्र तथा नक्साहरु तयार पार्ने, बिभिन्न विषयका चित्र कोर्ने आदि काम पनि विद्यार्थीले गर्नु पर्दछ ।आमाबुबाले समेत आफ्ना छोराछोरीलाई राम्रो बनाउन उनीहरुलाई अरु बेलाको भन्दा बढी माया गर्ने, आफ्ना जीवनभोगाइ सुनाउने तथा घरायसी कामहरुमा संलग्न गराउनु पर्दछ । जसले गर्दा उनीहरुलाई तनाव, चिन्ता, नकारात्मक प्रभावबाट बचाउन सकिन्छ । याद गरौँ करेसाबारीमा पानी हाल्ने, बगैंचामा सरसफाई गर्ने, तरकारी तथा फलफूल रोप्न लगाउने, नास्ता, चिया तथा खाना पकाउन लगाउने, झाडो लगाउने र लुगा धुने लगायतका काम गराउँदा छोराछोरी बिग्रिन्छन कि भन्ने नसोच्नुहोस् किनकी यस्तो काममा बच्चाले बढी रुचि राख्ने भएकाले उनीहरु यस्तो काम सजिलै गर्न सक्छन् । जसले गर्दा भावी जीवनमा आउने हरेक समस्याको समाधान गर्न उनीहरु दक्ष, कुशल र सक्षम बन्नेछन् । अभिभावकले जान्नैपर्ने अर्को कुरा बच्चालाई दिनभरि टेलिभिजनमा कार्टुन वा सिरियल हेर्न, मोबाइलमा फेसबुक, ईमो, टिकटप, ह्वाट्सएप चलाउन, वा गेम खेल्न नदिनुहोस् । बरु त्यसको बदला नेट इन्टरनेटको प्रयोग गरेर अध्ययन गर्ने बानीको विकास गराउनुहोस् । आज दिनभरि घरमा बसेर मोवाइल चलाउने र टिभी हेर्ने बानी परेको तपाईंको छोराछोरी भोलि विद्यालयमा गएर पनि किताबमा ध्यानै दिन सक्दैन र फेल हुन्छ यसको जिम्मेवार तपाईं नै हो किनकी आमाबुबा नै छोराछोरीका भविष्य निर्माता हुन् । लकडाउनको समयमा बच्चा २४ घण्टा तपाईंसँगै छ उसलाई राम्रो बनाउन समय विभाजन गरिदिनुहोस् र ठिक ठिक समयमा काम गरे नगरेको हेर्नुहोस् जसले गर्दा उसले समयको महत्व बुझ्नसकोस् । बच्चाहरुको सामुन्नेमा झगडा वा कलह गर्ने, अनादरार्थी शब्द प्रयोग गरी उच्च स्वरमा बोल्ने, होहल्ला बढी गर्ने, मदिरा सेवन गरी बच्चाको सामुन्नेमा जाने, चुरोट, गुटका तथा सूर्तिजन्य पदार्थको सेवन गर्ने जस्ता क्रियाकलाप नगर्नुहोस् । किनकी यस्ता क्रियाकलापले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्दछ । छोराछोरीलाई अनुशासन, नैतिकता, मर्यादा, सामाजिक दायित्व, जिम्मेवारी र कर्तव्यबोधको सिकाउनुहोस् । संस्कार, सभ्यता, परम्परा, रीतिरिवाज, बोली व्यवहार र चालचलन सही सिकाउन सके यो लकडाउनपछि तपाईंको बच्चा विद्यालयमा जाँदा सबैले तपाईंको तारिफ गर्नेछन् भने विद्यार्थीको भविष्य उज्वल बन्नेछ ।

ताजा समाचार