–केशव पन्त
रावण एक पौराणिक पात्र हुन् । वाल्मीकि रामायणका अनुसार उनी त्रेता युगमा लंकामा राजा थिए । रावण एक विद्वान, धार्मिक, वैज्ञानिक, शक्तिशाली व्यक्ति थिए । उनी ब्रह्माका पनाति, पुलत्स्य ऋषिका नाति तथा विश्वश्रवा मुनिका छोरा हुन् । विश्वश्रवाका वरवर्णिनी र कैकसी नामका दुई पत्नी थिए । वरवर्णिनीबाट कुवेरको जन्म भएपछि कैकसीलाई सौतेनी रिस उत्पन्न भयो र पतिसँग जिद्दी गरेर अशुभ कालमा गर्भधारण गरेकाले रावण र कुम्भकर्ण जस्ता भयंकर राक्षसको जन्म भएको थियो भन्ने कुरा वाल्मीकि रामायणमा उल्लेख गरिएको छ । त्यस्तै पद्मपुराण र श्रीमद्भागवत् पुराणले रावणको जन्म श्रापका कारण भएको उल्लेख गरेका छन् । यिनीहरुका अनुसार भगवान् विष्णुका द्वारपाल जयविजयले भगवानलाई भेटन गएका चार ऋषि कुमारहरुलाई भित्र जान नदिएपछि ऋषि कुमारले ती दुवैलाई राक्षस बन्ने श्राप दिएका थिए । ऋषि कुमारहरुको श्रापबाट डराएका जयविजयले माफी माग्दा भगवानको इच्छा अनुसार कुमारहरुले उनीहरुलाई तीन जन्मसम्म राक्षस हुनुपर्ने र सबै जन्ममा भगवानले नै तिमीहरुको उद्धार गर्नेछन् भन्ने वचन दिएका थिए । सोही वचन अनुरुप तिनै जयविजय पहिलो जन्ममा हिरण्याक्ष र हिरण्यकशेपु जस्ता महान राक्षस भएर जन्मिए । हिरण्याक्षलाई भगवान् बराहले र हिरण्यकशेपुलाई भगवान् नृसिंहले उद्धार गर्नुभयो । त्यस्तै, दोस्रो जन्ममा रावण र कुम्भकर्ण भएर जन्मिए र भगवान् श्रीरामले अवतार लिएर उद्धार गर्नुभयो । तेस्रो जन्ममा तिनै जयविजय शिशुपाल र दन्तबक्र नाम गरेका राक्षस भए र भगवान श्रीकृष्ण रुपमा अवतरित भएर तिनीहरुको उद्धार गर्नुभयो । त्रेता युगका लङ्का अधिपति रावण शिव भक्त थिए । उनी प्रत्येक दिन बिहान भगवान शिवको पूजा अर्चना, शंखनाद र वेदको पाठ गर्दथे । रावण वेदज्ञ र धेरै विद्याको सफल साधक मात्र नभई एक कुशल राजनीतिज्ञ, सेनापति, वास्तुकलाविज्ञ, ज्योतिषशास्त्र र आकाश गामिनी विद्यामा पारंगत थिए । उनले भगवान शिव तथा ब्रह्माको उपासना गरेर विभिन्न वरदान समेत पाएका थिए । रावणका दश ओटा शिर समेत शिव उपासनाबाट प्राप्त भएका थिए । त्यसैले उनलाई दशानन भनिन्थ्यो । अर्थात् उनीसँग दश मान्छे बराबरको शक्ति, सामर्थ्य, बुद्धि र विद्वता थियो । उनले अंक प्रकाश, इन्द्र जाल, कुमार तन्त्र, प्राकृत कामधेनु, प्राकृत लंकेश्वर, ऋग्वेद भाष्य , रावणीयम संगीत, नाडी परीक्षा, रावण भेट जस्ता पुस्तकको समेत रचना गरेका थिए । रावणले रचना गरेको शिवताण्डव स्तोत्र भगवान शिवको उपासना बेला अहिले पनि वाचन गरिन्छ । यसबाट उनी प्रकाण्ड विद्वान थिए भन्ने पुष्टि हुन्छ । लङ्का उनको मुख्य शासित मुलुक भएपनि त्यसबाहेक अङ्गदिप, मलयद्वीप, वराहद्वीप, शंखद्वीप, कुशद्वीप जस्ता राज्य पनि उनले विजयी प्राप्त गरेका थिए । यसबाट उनी निकै शक्तिशाली र पराक्रमी थिए भन्ने पुष्टि हुन्छ । वेद शास्त्रको राम्रो ज्ञान भएका उनी नित्य शिव आराधना गर्थे तर भगवान विष्णुका कट्टर बिरोधी थिए । भगवानसँगको द्वेष र अहंकार नै उनको विनाशको प्रमुख कारण हो । राक्षस कुलका भएकाले उनमा काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईर्ष्या जस्ता दुर्गुणहरु व्याप्त थिए । अहंकारी प्रवृतिका उनले जगतजननी सीतालाई अपहरण गरे । सीतालाई फर्काइदिन उनकी पत्नी मन्दोदरीले पटकपटक आग्रह गर्दा पनि उनले सुनेनन् । उनका भाइ विभीषणले समेत सीतालाई फिर्ता गरिदिन अनुनयविनय गरेका थिए । भाइको कुरा सुन्नुका सट्टा धार्मिक प्रवृत्तिका विभीषणलाई उनले अपमान गरेर दरबारबाट निकाली दिए । आफन्तको त्याग पनि उनको पराजयको कारण हो । अन्तिम समयसम्म पनि विभीषणले सम्झाउदै भन्न खोजेका थिए( “त्यज सकोपं कुलकीर्तिनाशनं, भजस्व धर्म कुलकीर्तिबर्धनम् । प्रसीद जीवेम सबांधवा वयं, प्रदीयतां दशरथाय मैथिलीम् ।“ अर्थात् हे दाजु कुलको नाश हुने बाला तपाईंको क्रोधलाई त्याग्नुहोस् र आफ्नो कुलको कीर्तिबर्धन हुने धर्मको मार्ग अवलम्बन गर्नुहोस् । आफू र आफ्ना बन्धुबान्धवहरुलाई आनन्दपूर्वक बाच्न दिनका लागि सीतालाई लगेर श्रीरामको जिम्मा लगाइदिनुहोस् । विभीषणका यस्ता कुराले क्रुद्ध बनेका रावणले भने ( “ जानामि सीता जनकप्रसुता, जानामि रामं मधुसूदनं च । बधं च जानामि निजं दशस्यतथापि सीता न समर्पयामि ।।“ अर्थात् राजा जनककी छोरी सीता साक्षात् लक्ष्मी हुन् र राम स्वयं मधुसुदन अर्थात् विष्णु भगवान हुन भन्ने मलाई थाहा छ । तिनै रामका हातबाट मेरो मृत्यु हुने हो भन्ने पनि थाहा छ तरपनि म सीतालाई फर्काउदिँन । रावणको यस्तै हठी उद्दण्ड स्वभावका कारण उसको पतन भएको हो । उसले ब्राह्माजीबाट बरदान पाएपछि परम शक्तिशाली भएको शान गर्दथ्यो । भगवान् श्रीरामलाई वनवासीको संज्ञा दिएर उनलाई सहजै जित्छु र सीतालाई आफ्नो बनाउछु भन्ने निकृष्ट सोचको प्रबलता पनि उनमा थियो । जसका कारण रावण सहित सारा राक्षस जातिको विनाश भयो । वर्तमान समयका अधिकांश मानवहरुमा समेत रावणीय प्रवृतिका अवशेषहरु जीवित छन् । काम, क्रोध, लोभ, मद, मात्सर्य, द्वेष, ईर्ष्या, अहमतावादी सोच, छलकपट, प्रपञ्च, अर्काको सम्पत्ति र परस्त्रीमाथिको कुदृष्टि, ईश्वरीय सत्ताको विरोध, नास्तिकता जस्ता विकारहरुले अहिलेका मानवहरु ग्रसित छन् । भगवानले निर्देश गरेका सत्मार्गमा हिडने तथा वेदशास्त्रले बताएका नियमको परिपालना गर्ने व्यक्तिलाई नराम्रो देख्ने अहिलेका मानव रावणभन्दा कम छैनन् । हामीले यस्ता दुर्गुणहरुको त्याग, सत्मार्गको अवलम्बन, शास्त्रनुकूल आचरण, पारिवारिक तथा सामाजिक मर्यादाको पालना गर्न सके रावण बन्नबाट बाच्नेछौँ र भगवान श्रीरामको कृपा हुनेछ ।
शक्तिशाली रावणको अवसान र मानव जातीलाई शिक्षा
Share post: