बैतडी ।
बैतडीसहित सुदूरपश्चिमका तीन विमानस्थलमा प्राविधिक जनशक्ति खटाइएको छ ।
लामो समयदेखि बन्द रहेका बैतडीको पाटन, डोटीको दिपायल र बझाङको देवल विमानस्थलमा पुनः हवाई सेवा सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक जनशक्ति खटाएको हो ।
धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले तीनवटै विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर खटाएको जानकारी दिए। टावर र अन्य उपकरण जडान नभएको अवस्था भएकाले प्राधिकरणले तत्कालका लागि भिएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति खटाएको हो ।
गत असोज १७ गते परीक्षण उडानको गरिएका तीनवटै विमानस्थलमा समीट एयरले नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ। समीट एयरले धनगढीलाई बेस बनाएर बैतडी, डोटी र बझाङका लागि उडान भर्नेछ।
समीटले अहिले धनगढी–बाजुरा चार्टड उडान गरिरहेको छ । समीट एयर सुदूरपश्चिमका प्रतिनिधि हर्क मल्लले आज (मंगलबार) देखि धनगढी–बझाङ उडान हुने जानकारी दिए। बैतडी र डोटीमा समेत उडान भर्ने तयारी रहेको बताइएको छ।
यात्रु चापलाई हेरेर मात्र नियमित उडानको विषयमा टुङ्गो लाग्ने समीट एयरले जनाएको छ ।
धनगढीबाट बझाङको भाडा पाँच हजार ४८ रुपैयाँ कायम गरिएको छ भने धनगढी–बैतडीको भाडा तीन हजार आठ सय दुई रुपैयाँ तोकिएको छ। डोटीको भाडादर भने कायम भइनसकेको समीट एयरका प्रतिनिधि मल्लको भनाई छ ।
यसअघि यही असोज १७ गते बैतडीको पाटन, बझाङको देवल र डोटीको दिपायल विमानस्थलमा परीक्षण उडान गरिएको थियो।
परीक्षण उडानका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराई, तीनवटै जिल्लाका संघीय सांसद, नागरिक उड्डयन प्राधिकरणको प्राविधिकसहितको टोलीले विमानस्थलको निरीक्षण समेत गरेका थिए ।
लामो समयदेखि बन्द रहेका विमानस्थल सञ्चालनमा आउने भएपछि यहाँका नागरिक उत्साहित भएका छन्। हाल सुदूरपश्चिमको गेटा विमानस्थलबाट मात्रै काठमाडौं–धनगढी– काठमाडौं नियमित उडान हुने गरेको छ ।