महेन्द्रनगर ।
पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक)मा भीमदत्त नगरपालिकाको चर्को आलोचना भइरहेको छ । विभिन्न विषयलाई लिएर सामाजिक सञ्जालमा नगरपालिकाको व्यापक टिकाटिप्पणी भइरहेको हो ।
सुरुवातदेखि नै सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणीमा तानिने भीनपाले ‘महेन्द्रनगरको सब्जीमण्डी क्षेत्रमा कञ्चन मल निर्माण गर्ने’ भनेपछि सामाजिक सञ्जाल झनै तातेको छ ।
भीमदत्त नगरपालिका–४ गोल मार्केटमा निर्माण भएको बाल उद्यान र कफि हाउस, कञ्चन मल तथा विभिन्न विकास आयोजनाको विषयलाई लिएर सामाजिक सञ्जालमा नगरपालिकाको चर्को टिकाटिप्पणी भइरहेको हो ।
यस्तो छ सामाजिक सञ्जालमा
अत्तालियो नगरपालिका, भन्छः ‘कुनै सत्यता छैन’
ती आलोचना सहन नसकेर भीमदत्त नगरपालिका अत्तालिएको देखिन्छ । । सामाजिक सञ्चालमा भइरहेको टिकाटिप्पणीलाई नगरपालिकाले सहन नसकेर मंगलवार प्रेस बिज्ञप्ती नै जारी गरी खण्डन गरेको छ ।
भीमदत्त नगरपालिकालाई बदनाम गराउने किसिमले भ्रामक अपुष्ट, तथ्यहीन र कपोकल्पित रुपमा भ्रम फैलाउने, विवादमा पार्ने र लाञ्छना लगाउने उद्देश्यले पुर्वाग्रही रुपमा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको प्रति नगरपालिकाले दुःख व्यक्त गर्दै ती कुरामा कुनै पनि सत्यता नभएको स्पष्ट पारेको हो ।
जनमानसमा भ्रम फैलाएर नगरको विकास र समृद्धि, सामाजिक एकतामा प्रहार भइरहेको कुरामा सजग र सचेत हुन समेत आग्रह गरिएको छ । भीमदत्त नगरपालिका–४ स्थित गोल मार्केटमा ठेक्का मार्फत बाल उद्यान र कफि हाउस निर्माण भइरहेको बिज्ञप्तीमा उल्लेख छ ।
नगर प्रवक्ता हिमाल बहादुर चन्दद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘कफि हाउस सञ्चालनका लागि नगर सभाबाट मासिक भाडा रु.१० हजार कायम गरि सञ्चालनका लागि १५ दिने सुचना प्रकाशित गरि सो सुचनाबाट कफि हाउस सञ्चालनका लागि सबै भन्दा बढि रु.२० हजार १ सय मासिक भाडा तिर्ने कबोल गरेको व्यक्तिलाई कफि हाउस सञ्चालनको सम्झौता हुने चरणमा रहेको छ ।’
निजी सार्वजनिक साझेदारीको माध्यमबाट नगरबासीहरुको विकासमा सहभागीता गराउने नीति अनुसार विकास कोषसंगको नियमित बैठक एवं छलफलमा समेत निजी सार्वजनिक साझेदारीका माध्यमबाट कञ्चन मल निर्माण गर्न प्रस्ताव आएकोले सोही बमोजिम नगरपालिकाले प्रारम्भिक रुपमा नगर क्षेत्र भित्रका व्यवसायीहरुसंग छलफल गरेको जनाएको छ ।
नगर विकास कोष, भीमदत्त नगरपालिका र निजी साझेदारी गर्ने व्यक्ति, संस्था एवं फर्महरुसंग आवश्यक छलफलका माध्यमबाट कञ्चन मल निर्माणको मस्यौदा तयार गरिने नगरपालिकाले जनाएको छ ।