बैतडी ।
नगरपालिकामा कार्यरत ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैतडीको पाटन नगरपालिकालाई सिल गरिने भएको छ । यही असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म नगरक्षेत्र सिल गर्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए ।
बुधबार नगरउपप्रमुख सरस्वती कोलीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि सूचना जारी गर्दै नगरक्षेत्र सिल गर्ने निर्णय भएको जनाएको छ ।
दशैँ तिहारको समयमा गाउँघर र बजार क्षेत्रमा बढी भिडभाड हुने हुँदा सुरक्षाकर्मी र अनुगमनकर्ताको टोली खटाउने नगरपालिकाले निर्णय गरेको छ। नगरपालिकाभित्र समुदायस्तरमै कोरोना भाइरसका संक्रमित देखिन थालेपछि सिल गर्ने निर्णय गरेको हो।
सिल गर्ने निर्णय गरेसँगै बिहीबारदेखि बजार व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसंस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलन गर्न रोक लागेको छ ।
यसका साथै कात्तिक ३ गतेसम्म आवतजावतमा समेत पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको गरिएको छ। यस्तै, बैंक तथा वित्तीय संस्थाहरू कात्तिक १ देखि ३ दिन सम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
यसअघि नगरपालिकाका २ जना कर्मचारीमा कोरोना देखिएपछि असोज २३ देखि नगरपालिकाको कार्यालय र १० वटै वडा कार्यालयहरु बन्द गरिएको थियो। चाडपर्वको समयमा मानिसहरुको भिडभाड हुने भएकोले कोरोनाले भयावह रूप लिनसक्ने भन्दै यसबाट बच्ने उपाय अपनाउन नगरपालिकाले आग्रह गरेको छ।
पाटन नगरपालिकामा हालसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये हाल १९ जना सक्रिय संक्रमित पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।