सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, डीएसपीसहित ४० बढी घाइते ३१ राउण्ड अश्रु ग्याँस प्रहार

Share post:

जनकपुरधाम ।
सर्लाहीमा आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका नेपाली कांग्रेसका नेतारकार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको छ ।

ठुलो संख्यामा आएका कांग्रेसका नेता एवम् कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झड्प भएको हो । ‘आउनेबित्तिकै उनीहरुले ढुङ्गामुडा गर्न थाले,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन कुँवरले भने, ‘उनीहरुले प्रहरी कार्यालयको झ्यालका सिसासमेत फुटाइदिएपछि बल प्रयोग गर्नुपरेको हो ।

’ उनका अनुसार भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । दुवै पक्षको झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइते भएको प्रदेश सांसद वीरेन्द्र सिंहले जानकारी दिए । झाडु, प्लेकार्डसहित प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय गएका थिए ।

उनीहरुले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग रोखका छन् ।

कांग्रेसका नेताहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले एक्कासी बल प्रयोग गरेको दाबी गरेका छन् । तर प्रदर्शनकारीले तोड्फोड गर्न थालेपछि बल प्रयोग गर्दै अश्रु ग्याँस प्रहार गर्नुपरेको डीएसपी कुँवरले बताए ।

ताजा समाचार