शुक्लाफाँटाकी कालीदेवी हत्या प्रकरणः घरायसी विवादमा देबरले हत्या पछि शव खाल्डोमा गाडे !

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको शुक्लफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैँया शिविरकी कालीदेवी खुनाको हत्यामा उनकै देबरको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मंगलवार दिउँसो खोलामा माछा मार्न गएकी खुनाको शव बुधवार स्थानीय गौडी खोला किनारमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएको थियो ।

कालीदेवीसंगै उनका छोरा र देबर मानसिंह खुना पनि खोलामा माछा मार्न गएका थिए । खोलामा माछा मार्न गएकी कालीदेवी घर नफर्केपछि स्थानीयबासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा उनको शव फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानबाट घटनामा मृतककै देबर २६ वर्षीय मान सिंह खुनाको संलग्नता रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।

‘देबरले अपराध स्विकारेका छन् । प्रारम्भिक अनुसन्धानबाट घटना गराउनमा उनकै संलग्नता देखिन्छ ।’ डिएसपी थापाले भने, ‘घरायसी विवादले घटना भएको देखिन्छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।’

कालीदेवीको हत्या गरेर घटना ढाकछोप तथा लुकाउन खाल्डोमा गाड्ने काममा देबरकै संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा उनीसंगै अन्य कोही अरुको संलग्नता पनि हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

हत्या आरोपी मान सिंह अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा छन् । मृतक कालीदेवीका एक छोरा र एक छोरी छन् । उनका श्रीमान् महेन्द्रनगर बजारमा काम गर्दै आएका छन् ।

ताजा समाचार