कञ्चनपुरमा मानव बेचबिखन मुद्दामा एक युवती कारागार चलान, दुई जना छुटे

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरमा मानव बेचबिखन मुद्दामा एक युवतीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले कृष्णपुर नगरपालिका–२ वाणीकी ममता गिरीलाई बिहिवार मानव बेचबिखन मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।

सोही घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका भीमदत्त नगरपालिका–१३ का राजेन्द्र गिरी र वडा नम्बर ७ का राजेन्द्र भट्ट साधारण तारिखमा रिहा भएका छन् ।

१३ असोजमा भीमदत्त नगरपालिका–१८ सालघारीकी एक १५ वर्षीय युवतीलाई ललाइफकाइ गरी भारत लैजादै गरेको अवस्थामा दोधारा–चाँदनी क्षेत्रबाट ममता गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोही घटनाको अनुसन्धानका लागि १९ असोजमा प्रहरीले राजेन्द्र गिरी र राजेन्द्र भट्टलाई नियन्त्रणमा लिएको थियो । उनीहरु दुवै जना साधारण तारेखमा रिहा भएको डिएसपी थापाले बताए ।

राजेन्द्र गिरीको परिवारले सत्यको जित भएको प्रतिक्रिया दिएको छ । छोरा छुटेकोमा खुसि व्यक्त गदै राजेन्द्रका बुवा रामचन्द्र गिरीले ढिलै भए पनि सत्यको जित भएको प्रतिक्रिया दिए ।

‘छोरा निर्दोष थिए, ढिलै भए पनि सत्यको जित भएको छ ।’ उनले भने, ‘चिनजानका कारण सहयोग गर्दा झण्डै छोरा फसिसकेको थियो । तर न्यायलयले सत्यको पक्षमा फैसला ग-यो ।’

दोधारा–चाँदनी झोलुङ्गे पुलमा ठेकेदारको काम गर्ने राजेन्द्रसंग ममताको चिनजान थियो । राजेन्द्रका बुवा रामचन्द्रका अनुसार ममताले बहिनी र आफू आमालाई भेट्न भारततर्फ गइरहेकाले गाडी खोज्न सहयोग गर्न आग्रह गरेकी थिइन ।

त्यस पछि राजेन्द्रले बाइक खोजी दिएका थिए । त्यसको केही समय पछि प्रहरीबाट दुई महिला भागेको सूचना आए पछि राजेन्द्र आफैले बाइकवालालाई फोन गरेर बेचबिखनको चपेटामा फसेकी केटीको उद्दार गरेर ममताको बेचबिखनका लागि केटी भारत लैजाने प्रयास बिफल पारेका थिए ।

ताजा समाचार