एजेन्सी
बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ । बहराइनको राजदरबारले अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको बुधबार निधन भएको ट्विटरमार्फत् जानकारी दिएको छ ।
८४ वर्षीय खालिफाको अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचार भइरहेको थियो ।
उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने छ । कोरोनाभाइरसका कारण सीमित मानिसहरूलाई मात्र शवयात्रामा सहभागी गराइने बताइएको छ ।
बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन् । भोलिदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको छ ।
राजपरिवारमा जन्मिएका खालिफा सन् १९७०मा बहराइनका प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी लगातार प्रधानमन्त्री रहे ।
संसारभर यतिलामो समय प्रधानमन्त्री हुने उनी नै पहिलो व्यक्ति हुन् । उनीभन्दा पछाडि कम्बोडियाका प्रधानमन्त्री हुन सेन छन् । हुन सेन १९८५ देखि कम्बोडियाका प्रधानमन्त्री छन् ।