– मदन खडायत ।
दोस्रो संविधान सभाको चुनावको समय थियो । म मा पनि राजनीतिक चेत आइसकेको थियो । मैले राजनीतिलाई नजिक बाट नियालिरहेको थिए । यो के हो किन चाहिन्छ ? के गर्छ ? भन्ने बाट धेरै अगाडी बढेर राजनीति कस्तो हुनु पर्छ भन्ने केही बुझी सकेको थिए । केही बुझ्ने क्रममा थिए ।
पहिलो संविधान सभाबाट सविधान बनाउन नसकेर दोस्रो संविधान सभाको चुनावको प्रचार प्रसार जोरसोरका साथ भइरहेको थियो । म आफ्नो अध्ययन मै थिए । मलाई त्यतातिर त्यति चासो थिएन । समाजिक सञ्जाल फेसबुकमा केही दिन यता कुकुर चिन्ह सहित ४ जना उम्मेदवारको चुनावी पोस्टर देखिरहेको थिए । पोस्टरमा लेखिएको थियो– कुकुर जस्तै बफादार, इमान्दार, सेवक ।
त्यसपछि टेलिभिजको एक अन्तरवार्ताले मेरो ध्यानआकर्षण ग-यो । जसमा ती ४ जना कुकुर चुनाव चिन्हधारी उम्मेदवार थिए । जसको क्रमश नाम उज्वल थापा, पुकार बम, सन्तोष प्रदान, गोविन्द नारायण । त्यति बेला उनीहरुको काम भन्दा पनि चुनाव चिन्ह र नाराप्रति धेरैको चासो थियो । कुकुर चुनाव चिन्ह केहीका लागि अनौठो त केहीका लागि हासोको विषय भइरहेको थियो ।
***
मैले इन्टरनेटमा उनीहरुको बारेमा खोज गरे र अध्ययन गरे जसमा उनीहरुको घोषणा पत्र पढेँ । युट्युबमा भिडिओे पनि हेरे जसमा कुकुरलाई हातमा लिएर उनीहरू आफ्नो घोषणा पत्र पढ्दै प्रतिज्ञा गरिएका थिए । विकल्प कुर्दै बस्ने की बन्ने ? हामीले नगरे कसले ? अहिले नगरे कहिले ?
उनीहरूका हरेक कुराले मेरो दिमाक घोचिरहेको थियो । पछि थाहा भयो यिनीहरूको दल पनि रहेछ जसको नाम विवेकशील नेपाली दल राखिएको थियो । तर निर्वाचन आयोगमा दर्ता भइसकेको भने थिएन ।
***
जसको लागी हस्ताक्षर अभियान चलाइरहेको थियो । जसमा म पनि सहभागी भएर पहिलो पटक राजनीतिक दलको सदस्यता लिएर संस्थापक सदस्य हुन पुगेको थिए ।
मलाई ईमेल आउँछ त्यसमा भनिएको हुन्छ विवेकशील परिवारमा स्वागत छ । काम कर्तब्य आदि इत्यादि ।
लगभग मलाई ईमेलमै सम्पूर्ण जानकारी प्राप्त हुने ग-थ्यो ।
विवेकशील नेपाली दल दर्ता पनि भइसकेको थियो । त्यसपछि काठमाडौं उपत्यकामा मात्रै समूहका रूपमा काम गरिरहेकोे यसलाई बाहिर जिल्लामा पनि फैलाउनु पर्छ भन्ने कुरा चलिरहेको थियो ।
फेसबुकको कमेन्टमा धेरैले आफ्नो ठाउँमा आउन अनुरोध गर्थे भने कोही बुझ्न चाहन्थे । कञ्चनपुरबाट पहिलो सुदूरपश्चिमबाट पहिलो पुकार बम दाई पछि दोश्रो संस्थापक सदस्य म नै थिए ।
मैले फेसबुकबाट युवाहरुलाई संगठित हुन आह्वान गरिरहेको हुन्थेँ । कञ्चनपुरमा म पछि जोडिएको व्यक्ति हरीश भट्ट नै हुन । हामी बिच भेट भयो कुरा कानी भयो । त्यसपछि हृदय रेग्मी, नरेश जी, धर्मानन्द लगायत धेरै जनाको टीम बन्न पुग्यो । केन्द्रले मलाई महाकाली अञ्चलको जिम्मेवारी दियो ।
हामी साथीहरु जम्मा भई हृदय रेग्मीको नेतृत्वमा कञ्चनपुर जिल्ला समिति गठन गर्यौं ।
त्यसपछि हाम्रो अभियानहरू कहिले सरसफाइ त कहिले जनचेतनामूलक कार्यक्रम हुन्थे भने कहिले हामी सरकारी कार्यालयहरुमा ज्ञापन दिन पुग्थ्यौं । सूचना तथा लेख्ने कामको जिम्मेवारी हरीश भट्ट लाई दिएका थियौं ।
उज्वल थापा दाईसंग मेरो कुराकानी भइरहन्थ्यो । ‘मदन भाई के छ हाल खबर’ केही अप्ठयारो भए मलाई भन्नु होला भन्नु हुन्थ्यो ।
२०७२ सालमा विनासकारी भूकम्प आयो । जसबाट धेरै नेपालीले ज्यान गयो भने धेरै घरबारविहिन हुन पुगे । भूकम्प गएको केही घण्टा पछि विवेकशीलले आकस्मिक बैठक बोलायो ।
र उपत्यकाभित्र रहेका विवेकशील सदस्य तथा साथीहरूलाई राहत तथा उद्दार कार्यमा खटाइयो । जसको प्रशंसा आजसम्म पनि हुने गर्दछ । जसबाट विवेकशील नेपाली दल चिनिएको पनि थियो ।
ठूला पत्रपत्रिकाले विवेकशीलका बारेमा कभर स्टोरी नै बनाएका थिए । जसको श्रेय नेतृत्वकर्ता स्व.उज्वल दाईलाई जान्छ । भूकम्पको पीडा निको हुन नपाउँदै भारतले नेपालमा अघोषित नाकाबन्दी लगाइदिन्छ । नेपालमा पेट्रोल डिजेल लगायतका खाद्यान्नको अभाव हुन्छ ।
कञ्चनपुरमा पहिलो पटक हामीहरूले भारतीय नाकाबन्दी बिरुद्ध साइकल -याली निकाल्यौ । राष्ट्रियस्तरका सञ्चार माध्यमहरुले प्रकासन प्रसारण गरेका थिए । केही दिनका लागि उज्वल दाई व्यक्तिगत कामले अमेरिका गएका थिए । त्रिभुवन विमानस्थलबाट उज्वल दाइको फोन आयो – ‘मदन भाई नमस्ते । खुसी लाग्यो भाई तिमीहरूको समाचार मैले पढें । धन्यवाद छ ।’
त्यसपछि विवेकशील उज्वल दाइको नेतृत्वमा फैलिदै गयो । उहाँसंग मेरो पहिलो भेट चाहिँ काठमाडौं महाराजगन्जस्थित पार्टी कार्यालयमा भएको थियो । त्यतिबेला म दायाँ हातको वोन ट्युमरको उपचारको क्रममा काठमाडौं गएको थिए । उहाँसँगै बसेर चिया खाए गफ गरे ।
उहाँले कञ्चनपुर जिल्लाको वस्तुस्थिति बारे सोध्नु भयो । छिट्टै कञ्चनपुर आउन अनुरोध गरे । पछि विवेकशील मेची महाकाली यात्राका क्रममा उहाँ कञ्चनपुर आउनु भएको थियो । कलश होटलमा अन्तरक्रिया कार्यक्रम राखेका थियौं । जसमा युवा उद्यमी लेखक पत्रकार सबैको उपस्थिति थियो ।
***
उज्वल दाई नेपाली राजनीतिलाई सुधारेर युवा मैत्री, समय सापेक्ष, नेपाल केन्द्रित राजनीति चाहन्थे । उहाँ आफू नसुती, भोकै बसेर पनि देशका लागि केही गर्न तयार भइरहने व्यक्ति थिए ।
उहाँ अमेरिका जस्तो देश छोडेर नेपाल आएर उद्यम र राजनीति गर्न थाले । उहाँमा राष्ट्रभक्ति यति थियो की उहाँले पार्टीको झण्डा भन्दा पनि देश झण्डा समाउन हामी सबैलाई प्रेरित गर्नु हुन्थ्यो । उहाँ भन्ने गर्नु हुन्थ्यो–झण्डा समाते एउटै समाउने हो त्यो हो राष्ट्रिय झण्डा’ ।
नेपाली राजनीतिमा ठूला ठूला कुरा भन्दा पनि साना साना कुरा गरेर परिवर्तन सम्भव छ भन्ने अठोट उहाँको थियो । उहाँले सिकाउनु भएको सुन्दर पक्ष अर्को केहो भने राम्रो कामको समर्थन र नराम्रो कामको विरोध पनि हो ।
चाहे जुन सुकै दलको किन नहोस् । उहाँले धेरैलाई उद्यमी पनि बनाउनु भयो । उहाँ स्याङ्जामा कफी खेती पनि गर्नुहुन्थ्यो । उहाँको WHY NEPAL नामक किताव पनि प्रकाशित छ ।
उज्वल थापाले थालेका क्रान्तिकारी अभियानहरु
- हामी नेपाली एक हौ ।
- नेपाल खुल्ला छ ।
- गरि खान देऊ ।
- उद्यमशील नेपाल
- भ्रष्टाचार विरुद्धको अभियान
***
विवेकशील र साझाबीच एकीकरणको विषयमा हामी बिच केही भिन्नता रहे । पूर्ण तयारी बिना साझासंग हात मिलाउनु उहाँको गल्ती थिएन । वार्ता टोलीको र केन्द्रित समितिको हतारको निर्णय थियो । जसमा मेरो ‘नोट अफ डिसेन्ट रहेको थियो ।
जसको फलस्वरूप पार्टी विभाजन समेत हुन् पुग्यो । त्यहींबाट म निष्क्रिय भएता पनि नेपाली राजनीति स्वस्थ होस्, युवा अगाडी बढुन, सरकार बफादार इमान्दार सेवक बनोस् भन्ने मेरो कामना अझै पनि कायम नैं छ ।
त्यसपछि उहाँ पनि नेतृत्व हस्तान्तरण गरेर निष्कृय झै बसिरहनु भएको थियो । अचानक खबर आयो उहाँ अस्पताल भर्ना हुनुहन्छ । कोरोना ले स्वास्थ्य जटिल छ भन्ने खबर आएको केही मै हामीबाट उहाँ ओझेल भैदिनु भयो ।
उहाले प्रतिपादन गरेका सिद्धान्त , मार्ग निर्देशन युवाहरुका लागि प्रेरणा प्रेरणा बन्नेछन् ।
नेपाली राजनीतिको उज्वल तारा प्रति हार्दिक श्रद्धा सुमन ।
(लेखक विवेकशील नेपाली दलका पूर्वसंस्थापक सदस्य हुन)
***