महेन्द्रनगर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा संस्थापन पक्ष (देउवा) निकट प्यानल पदाधिकारीमा विजयी भएको छ ।
पूर्वमन्त्री बिरबहादुर बलायरको नेतृत्वमा रहेको देउवा पक्षीय प्यानलसंग पौडेल पक्ष पराजित भएको हो ।
भर्खरै सम्पन्न मतगणना अनुसार सभापतिमा ६८८ मत ल्याएर बलायर विजयी भएको निर्वाचन अधिकृत गंगाराम पाण्डेयले जानकारी दिए ।
सभापतिमा बलायरका निकटम प्रतिद्धन्द्धी पौडेल समूहका नारायणदत्त मिश्रले २८० मत प्राप्त गरेका छन् ।
‘पदाधिकारीको मतगणना सकिएको छ, सदस्यहरुको अझै जारी नै छ ।’ पाण्डेयले भने ।
उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी निर्वाचन भएका छन् । चौधरीले ६१० मत प्राप्त गरे भने अवस्थीले ५२३ मत ल्याएका छन् ।
उपसभापतिमा पौडेल प्यानलका गोपाल गुरुङ, मनबहादुर रावल पराजित भएका छन् । उनीहरुले क्रमशः २८१, २६३ मत प्राप्त गरे । यस्तै उपसभापतिकै अर्का उम्मेदवार हीम बहादुर रावलले १२१ मत मात्रै ल्याउन सके ।
महामन्त्रीमा पनि देउवा निकट नरनारायण शाह ६४८ र मेघराज खड्का ६३५ मत सहित विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी प्रताप गुर्धामी र राम बहादुर शाहीले क्रमशः २१४ र ३०३ मत प्राप्त गरे ।
यस्तै सहमहामन्त्रीमा गोपालदत्त भट्ट ५२९, चिन्तामणी भट्ट ५३३ र अम्बिका कुमारी चलाउने ६८६ मत सहित विजयी भए । यी तीनै जना देउवा पक्षका उम्मेदवार हुन ।
सहमहामन्त्रीका उम्मेदवार नरेन्द्र प्रसाद भट्ट २१२, पदमराज पन्त २५५, लक्ष्मण बहादुर शाही १६४, हर्कबहादुर स्वाँर ६८ र खिना भण्डारीले २३२ मत मात्रै प्राप्त गरिन ।
सुदूरपश्चिम प्रदेश कार्य समितिको नेतृत्व चयनका लागि शनिबार धनगढीमा मतदान भएको थियो । मतदानमा एक हजार ३ मत खसेको थियो ।