महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको शिलान्यास कार्यक्रममा सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु एउटै स्टेजमा देखिए ।
कोरोना संक्रमणको तेस्रो लहरको त्रासकैबीच सयौँको उपस्थितीमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मझगाउँ विमानस्थलको शिलान्यास गरेका थिए ।
सिसिएमसिसीले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । तर संक्रमणको जोखिम भुलेर नेता कार्यकर्ता तथा स्थानीहरुलाई जम्मा गरेर शिलान्यास कार्यक्रम आयोजित गरिएको हो ।
कार्यक्रममा अर्को रोचक दृश्य पनि देखियो– नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरुले ‘स्टेज सेयर’ गरेको ।
कञ्चनपुरमा लामो समय पछि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेताहरुले ‘स्टेज सेयर’ गरेका हुन । एकआपसका प्रतिद्धन्द्धी नेताहरु एउटै मञ्चमा देखिए पनि ती नेताहरु एकआपसमा बोलेनन् ।
यो पनिः शिलान्यास कार्यक्रममा उद्योगमन्त्री धामी ‘रुष्ट’, पर्यटनमन्त्री आलेलाई ‘टेरेनन्’
‘लामो समय पछि प्रतिद्धन्द्धी नेताहरु एउटै ठाउँमा देखे । त्यसैले उहाँहरु आपसमा के गर्नु हुन्छ भनेर हेरिरहेको थिएँ,’ कार्यक्रममा सहभागी भीमदत्त नगरपालिका–१६ का असोक बिष्टले दैनिक सञ्चारसंग भने, ‘केही बोलचाल नै गर्नु भएन, पर्यटनमन्त्री ज्यूसंग चाही बोलिरहनु भएको थियो ।’
पर्यटनमन्त्री आले प्रमुख अतिथि रहेको कार्यक्रममा एमालेका सांसद डा.दीपक प्रकाश भट्ट र नेपाली कांग्रेसका नेता पूर्वमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

मझगाउँ विमानस्थल कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी एजेण्डा बन्ने गरेको छ । भट्ट र लेखक एकअर्काका प्रतिस्पर्धी हुन । निर्वाचन क्षेत्र ३ बाट बामगठबन्धका उम्मेदवार बनेका भट्टले कांग्रेस नेता लेखकलाई पराजित गरेका थिए ।
आफ्नै क्षेत्रको चुनावी एजेण्डा बन्ने गरेको मझगाउँ विमानस्थलको शिलान्यास कार्यक्रममा एउटै मञ्चमा देखिएका भट्ट र लेखक एकआपसमा नबोलेका हुन ।
यस्तै एकीकृत समाजवादीका नेता तथा स्थायी समिति सदस्य उर्वादत्त पन्त, तारालामा तामाङ, लालबहादुर खड्का तथा एमाले नेता सुरेन्द्र बिष्ट, निरुदेवी पाल, दीपक प्रकाश भट्ट पनि एकआपसमा बोलेनन् ।

संघ सरकारका पर्यटनमन्त्री आले सहित प्रदेश सरकार मन्त्रीको जम्बो टीमले मझगाउँ विमानस्थल शिलान्यास गरेको हो ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी, आर्थिक मामिला तथा योजनामन्त्री तारालामा तामाङ, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार लगायतको सहभागीता रहेको थियो ।
