शिक्षकको अपराधः हत्या गरेर गुफामा शव लुकाए, अपहरणको नाटक गर्दा समातिए

Share post:

महेन्द्रनगर । डेढ महिनादेखि बेपत्ता बैतडीको सुर्नया गाउँपालिका–६ का ३२ वर्षीय डम्बर अवस्थीको हत्या भएको खुलेको छ । १४ मंसिरमा बेलुका खाना खाएर सुत्नका लागि कोठा गएका डम्बर बेपत्ता भएका थिए ।

सुरुमा ‘साथी कहाँ गएका होलान, आइहाल्लान्’ भनेर परिवारले खासै मतलब दिएन । घरमा नआए पछि उनलाई मोबाइलमा सम्पर्क गर्न थाले । तर उनको मोबाइल बन्द थियो ।

उनीहरुले साथीभाइ, इष्टमित्रकोमा खोजी गरे पनि डम्बरको केही अत्तोपत्तो चलेन । त्यस पछि खोजविनका लागि डम्बरको परिवारले प्रहरीमा निवेदन गरेको थियो ।

निवेदन पछि खोजी कार्य तीव्र पारेको प्रहरीले झण्डै ४५ दिन पछि बुधबार बेलुका डम्बरको शव हत्या गरेर गुफामा लुकाएको अवस्थामा भेटाएको थियो ।

जिल्ला प्रहरी कार्यालय (बैतडी)का प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गाउँ नजिकैको खर्काधार जंगलको गुफामा शव लुकाइएको अवस्था फेला परेको हो ।

प्रहरीले डम्बरको हत्या घटनामा संलग्न अभियुक्त २३ वर्षीय हरिश अवस्थीलाई नियन्त्रणमा लिएको छ । शिक्षक समेत रहेका उनी डम्बरको गाउँकै बासिन्दा हुन ।

‘अभियुक्तले अपराध स्वीकारेका छन्, नियन्त्रणमा लिएर घटना बारे विस्तृत अनुसन्धान भइरहेको छ ।’ प्रहरी निरीक्षक ओझाले दैनिक सञ्चारसंग भने ।

‘अपराधीसम्म’ यसरी पुग्यो प्रहरी
प्रहरी अभियुक्त हरिशलाई नियन्त्रणमा लिन पुग्नसम्मको पृष्ठभूमि निकै चाख लाग्दो छ । डम्बरको खोजबिनका परिवारले निवेदन दिएपछि प्रहरीले मोबाइल ‘कल डिटेल’ निकाल्यो ।

प्रहरी स्रोतका अनुसार त्यसबाट उनको अन्तिम संवाद हरिशसँग भएको देखियो । त्यसपछि हरिशलाई डम्बरबारे जानकारी लिन प्रहरीले सोधपुछ सुरु गर्यो । तर अभियुक्त हरिशले केही जानकारी नभएको भनेर ढाँटिदिए ।

‘अन्तिम कल’ सम्पर्क भएकाले अनुसन्धानको घेरामा तानिएका हरिशमाथि प्रहरीले सुक्ष्म निगरानी गरिरहेको थियो । प्रहरी निगरानीकै बेला हरिश गाउँबाट भागे ।

र, २२ पुसमा उनले बाँकेबाट अपहरणको नाटक रचेर प्रहरीलाई उद्दारका लागि आग्रह गरे ।
उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मलाई तीर्थराज अवस्थी र अम्भादत्त अवस्थी भन्नेहरुले विप्लवका ६ जना लगाएर बाँके राप्ती पुलनजिकै एउटा शौचालयमा थुनिराखेको छ । म जिल्ला प्रहरी कार्यालय बैतडी र बाँकेलाई छुटाउन हुन आग्रह गर्दछु ।….’

हरिशले समाजिक सञ्जालमा उल्लेख गरेका तीर्थराज अवस्थी मृतक डम्बरका दाइ हुन् । हरिशको यो सूचनापछि बाँके प्रहरीले उनलाई नियन्त्रणमा लिएर बैतडी प्रहरीको जिम्मा लगायो । प्रहरी अनुसन्धानबाट हरिशले घटना मोड्न अपहरणको नाटक रचेको खुलेको छ ।

‘केस मोड्न अपहरणको नाटक गरेका हुन् । अनुसन्धानको दायरामा रहेका व्यक्ति एक्कासी भागेपछि झनै शंका थपियो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले दैनिक सञ्चारसँग भने, ‘त्यसपछि सोधपुछ गर्दा अभियुक्तले हत्या गरेर खर्काधार जंगलको गुफा जस्तै ठाउँमा लुकाएको बयान दिए ।’

ती अधिकारीका अनुसार अभियुक्त हरिशको बयानमा उल्लेख गरेको अवस्थितिमा बुधबार खोजतलास गर्दा वेपत्ता डम्बरको शव भेटिएको हो ।

करिब १५ फिट तल गाडिएको अवस्थामा रहेको शव निकाल्नै प्रहरीलाई ४ घण्टा लाग्यो ।
पुरै सडेको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

घरायसी रिसिबीका कारण डम्बरको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘ढुङ्गाले हानेर हत्या गरेको बयान अभियुक्तले दिएका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘घटनामा उनी मात्रै या अरुको पनि संलग्नताबारे अनुसन्धान भइरहेको छ ।’

ताजा समाचार