‘विप्लवको कारबाहीमा’ परेका वडाध्यक्ष भन्छन्– डेढ लाख चन्दा नदिँदा हातपात भयो

Share post:

रमेश बोहरा/बझाङ ।जिल्लाको बित्थडचिर गाउँपालिका वडा न ८ धरानमा वडा कार्यालयभित्र पसेर अध्यक्ष जयबहादुर मल्ललगायत अन्य कर्मचारीहरूमाथि हातपात भएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले आफूसँग १ लाख पचास हजार माग गर्नुका साथै नदिए ज्यान मार्ने धम्की दिएको अध्यक्ष मल्लले बताए । उक्त समुहले भनेजति रकम दिन नसक्दा आफू लगायत अन्य कर्मचारीमाथि कुटपिट गरेको उनले बताए ।

‘विप्लवका कार्यकर्ता हौँ भन्दै १५–२० जनाको समूहमा रहेका उनीहरुले एक लाख पचास हजार जति चन्दा माग गरे । त्यत्रो पैसा कहाँबाट दिन सकिन्छ भनेर हामीले भन्यौँ,’ अध्यक्ष मल्लले भने, ‘त्यसपछि हामीमाथि हातपात गर्न थालेपछि गाउँले आएर हामीलाई बचाए ।’

त्यसपछि गाउँलेलाई ‘दुईचार दिनमा लास भेटिने छ’ भनेर धम्काएको उनको भनाई छ । त्यस्तै विप्लव निकट विद्यार्थी संघठन अखिल (क्रान्तिकारी) ले अध्यक्ष मल्ल र वडा सहसचिव दत्तराम अवस्थीले भ्रष्टाचार गरेकाले कारबाही गरेको बताएको छ ।

क्रान्तिकारी जिल्ला समिति बझाङका इन्चार्ज शंकर खातीले वडाबासीको विकास निर्माणका लागि आएको बजेटमाथि भ्रष्टाचार गरेकाले उनीहरुमाथि कारबारी गरेको बताए ।

इन्चार्ज खातीले भने, ‘हामीले उनीहरुमाथि हातपात गरेका छैनौँ । अब उनीहरुले भ्रष्टाचार गर्यो भन्ने जनगुनासो आयो । त्यसकारण हामीले जनगुनासोको सम्मान गर्दै उनीहरुमाथि जनकारबाही गरेका हौँ ।’

ताजा समाचार