महेन्द्रनगर । सुदूरपश्चिममा ४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
भारतबाट फर्किएका ४ जना पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्रिनगर नाका भएर भारतबाट फर्किएका उनीहरुमा नाकामै एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि उनीहरुको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको थियो ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले गत २५ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएका नमूनामध्ये ४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार बझाङको बित्थडचिर गाउँपालिका–२ का ३३ बर्षीय पुरुष, डोटीको पूर्वीचौकी गाउँपालिका–७ का ४८ बर्षीय पुरुष, कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का २९ बर्षीय पुरुष र दोधाराचाँदनी नगरपालिका–२ का ४२ बर्षीय पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।