‘मसला भनेर तरकारीमा मुसा मार्ने औषधी, एकै परिवारका ५ जना बिरामी

Share post:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा विषादीयुक्त खाना खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् ।

मंगलबार कृष्णपुर नगरपालिका–६ मौरीफाटामा बिषादीयुक्त खाना खाँदा ६५ वर्षीया रमादेवी विष्टको परिवारका पाँच जना अस्पताल भर्ना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

प्रहरीका अनुसार रमादेवी विष्ट सहित उनकी बुहारी र नातिनातिना विषादीयुक्त खाना खाँदा बिरामी भएका हुन ।

४५ वर्षीया कलावती विष्ट, १७ वर्षीया सरिता विष्ट, १४ वर्षीय समीर विष्ट र ८ वर्षीया समिक्षा विष्ट बिषादीयुक्ती खाना खादा बिरामी परेको डिएसपी शाहले जनाए ।

उनका अनुसार समीर विष्टले तरकारीमा मसला सम्झेर मुसा मार्ने औषधी हालेका थिए । सोही खाना खाँदा बिरामी परेका उनीहरु कैलालीको सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् ।

‘समीरको आमा रजश्वला हुनुभएको रहेछ, त्यसैले समीरले खाना बनाएका थिए,’ डिएसपी शाहले दैनिक सञ्चारसंग भने, ‘उनले नै तरकारीमा मसला भनेर मुसा मार्ने औषध हालेको खुलेको छ । थप अनुसन्धान हुदैछ ।’

समीरले बनाएका खाना खाएर बिरामी परेका उनीहरुमध्ये समीरको अवस्था मध्यम छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जनाको अवस्था भने अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार