सँगै शाखा अधिकृत बन्न सफल दिदीबहिनी

Share post:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका दुई दिदीबहिनीले शाखा अधिकृतमा नाम निकालेका छन् । २७ वर्षीया पार्वती भट्ट र उनकी बहिनी २५ वर्षीया बसन्ती भट्ट एकैपल्ट शाखा अधिकृतमा उर्तिण भए पछि अहिले उनीहरु चर्चामा छन् ।

अधिकृतमा सफल भएको तीनचार भइसक्दा पनि भट्ट दिदीबहिनीलाई अझै बधाई थाप्न भ्याइनभ्याइ छ । सामाजिक सञ्जाल, टेलिफोन तथा भेटेर उनीहरुलाई शुभचिन्तक, इष्टमित्रहरुले बधाई व्यक्त गरिरहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिदीबहिनीले शाखा अधिकृतको नियुक्ति पत्र र पदस्थापनाको पत्र बुझेका छन् । लामो संघर्ष पछि पहिलो प्रयासमै दिदीबहिनी संगै अधिकृतमा उर्तिण भएर नियुक्ति पाउँदा निकै खुसी छन् ।

शाखा अधिकृतको नियुक्ति बुझेका पार्वती र बसन्ती अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नै हाजिर भएका छन् ।

उनीहरु सामान्य किसान परिवारका छोरी हुन । पार्वती र बसन्तीका दुई दाजु र दुई दिदी छन् । उनका जेठो दाइ जीवन भट्ट अपाङ्गता अधिकारकर्मी हुन् भने अर्का दाजु पुष्पराज भट्ट ‘डिभी लटरी’ परेर अमेरिकामा छन् ।

जेठी दिदी जयन्ती भट्ट माध्यमिक तहको शिक्षक सेवा आयोगको जाँच पास गरेर शिक्षिका छिन् । उनी अहिले महेन्द्रनगर उच्च माध्यमिक विद्यालय (साधारण) मा कार्यरत छिन् ।

माइली दिदी विष्ना स्नातकोत्तर सकेर शिक्षक सेवा आयोगको तयारी गरिरहेकी छिन् । साँहिली पार्वती र कान्छी बसन्ती भने शाखा अधिकृत बनेका छन् ।

२७ वर्षीया पार्वती भट्ट र उनकी बहिनी २५ वर्षीया बसन्ती भट्ट एकैपल्ट शाखा अधिकृतमा उर्तिण भए पछि अहिले उनीहरु चर्चामा छन् ।

खरिदारदेखि अधिकृत
पार्वती र बसन्तीले खरिदार सरहको पदमा नाम निकालेर निजामती सेवामा पाइला टेकेका थिए । वि.सं. २०५१ सालमा जन्मिएकी पार्वती १९ वर्षको उमेरमा नै सरकारी सेवामा प्रवेश गरेकी थिइन ।

स्नातक अध्ययन गर्दै गर्दा उनले वि.सं. २०७२ सालमा विविध सेवा अन्तर्गत खरिदार सरह सहायक महिला विकास निरीक्षकमा नाम निकालिन् ।

पार्वतीले वि.सं. २०७१ मा सरकारी सेवामा जान प्रयास गरेकी थिइन । त्यस बेला प्रशासनतर्फ खरिदारमा आवेदन दिएकी उनी वैकल्पिकमा परिन । घरमा थाहा नदिएरै उनले आवेदन दिएकी थिइन ।

वैकल्पिकको सूचीमा पार्वतीको नाम देखे पछि मात्रै घरमा थाहा भएको थियो । ‘१८ वर्षको उमेरमै घरमा नबताएर फाराम भरेकी थिइँ, वैकल्पिकमा नाम आयो,’ पार्वतीले दैनिक सञ्चारसंग भनिन्, ‘पछि मात्रै घरमा थाहा भएको थियो । वैकल्पिकमा नाम आए पछि गर्नु सक्छु भनेर मेरो आत्मविश्वास बढ्दै गयो ।’

त्यसको एक वर्ष पछि वि.सं. २०७२ मा प्रशासनतर्फ खरिदार र विविध सेवातर्फ सहायक महिला विकास निरीक्षकमा लडेकी थिइन । यस पटक पार्वती सहायक महिला विकास निरीक्षकमा उर्तिण भइन । र, प्रशासनतर्फ खरिदारमा भने उनी बैकल्पिकमा परिन् ।

सहायक महिला विकास निरीक्षकमा नाम निकालेकी पार्वतीलाई कञ्चनपुर महिला तथा बालबालिका कार्यालयमा खटाइएको थियो ।

वि.सं. २०७४ सालमा समायोजन भएर स्थानीय तहमा गएकी उनी कञ्चनपुरकै दोधाराचाँदनी नगरपालिकामा खटिइन । वि.सं. २०७६ मा स्थानीय तहको सुब्बा सरह विविधतर्फ ५ औँ सहायकस्तर महिला विकास निरीक्षकमा नाम निकालेकी पार्वती बेलौरी नगरपालिकामा पदस्थापन भएकी थिइन ।

वि.सं. २०५३ सालमा जन्मिएकी बहिनी बसन्ती पनि २३ वर्षको उमेरमा सरकारी सेवामा प्रवेश गरेकी थिइन । उनले वि.सं. २०७६ मा स्थानीय तहमा प्रशासनतर्फ सहायक स्तर ५ औँ तहमा नाम निकालिन ।

र, बेलौरी नगरपालिकामा वडा सचिवको जिम्मेवारी पाएकी थिइन । अहिले उनै दिदीबहिनीहरु एकै पटक शाखा अधिकृत बन्न सफल भएका छन् ।

पढाइमा अब्बल
विद्यालय तहदेखि नै पार्वती र बसन्ती पढाइमा पनि अब्बल थिए । उनीहरुले कक्षा १ देखि १० सम्म भीमदत्त नगरपालिका–६ स्थित शान्ति निकेतन माध्यमिक विद्यालयमा अध्ययन गरे ।

वि.सं. २०६६ सालमा एसएलसी उर्तिण गरेकी पार्वतीले कक्षा १२ सम्म महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पसमा पढिन् । मानविकी संकायमा अंग्रेजी मूल विषय राखेर उनले त्यहाँबाट कक्षा १२ उर्तिण गरेकी थिइन ।

महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्दा उनी सरकारी सेवामा नाम निकालेर जागिरे बनेकी थिइन ।

शाखा अधिकृतमा उर्तिण दिदी पार्वती भट्ट ।

‘स्नातक दोस्रो वर्ष अध्ययन गर्दा लोकसेवाको तयारीमा पनि लागे । पहिलो प्रयासमै खरिदारको वैकल्पिकमा नाम निस्कियो,’ पार्वतीले भनिन्, ‘त्यस पछि झनै यसतर्फ ध्यान गयो । तेस्रो वर्षमा अध्ययन गर्दा महिला विकासमा उर्तिण भएकी थिएँ ।’

बहिनी बसन्ती भने पार्वती भन्दा एक कक्षा जुनियर थिइन । बसन्तीले वि.सं. २०६७ सालमा एसएलसी उर्तिण गरिन् ।
त्यस पछि उनले महेन्द्रनगरको रेडियन्ट माध्यमिक विद्यालयबाट आइएस्सी उर्तिण गरिन । र, सिद्धनाथ बिज्ञान क्याम्पसबाट बसन्तीले वि.सं. २०७४ सालमा बिएस्सी पुरा गरेकी थिइन ।

‘बहिनी कक्षामा पहिलो/दोस्रो स्थान ल्याउथिन । म त कक्षा ८ सम्म मध्यम नै थिएँ,’ पार्वतीले भनिन्, ‘९÷१० पढ्दा पढाई राम्रो हुदै गयो । कक्षा १० मा त विद्यालयमै उत्कृष्ट नतिजा ल्याए ।’

विद्यालय तहदेखि नै सामान्य ज्ञानतर्फ आफ्नो रुचि रहेको उनी सुनाउँछिन् । विद्यालयमा हुने हाजिरी जवाफ प्रतियोगितामा पार्वती प्रथम र बहिनी बसन्ती द्धितीय स्थान हासिल गर्थे ।

‘मैले स्नातक तहसम्म पढ्दा पनि हाजिरी जवाफमा सहभागी हुन्थे । विद्यालयमा हुने हाजिरी जवाफमा जति समूह बने पनि अन्तिममा हामी दिदीबहिनीको समूहमा नै प्रतिस्पर्धा चल्थ्यो,’ विद्यालयका दिन सम्झिदै पार्वती भन्छिन्, ‘जागिर खाने बेला पनि प्रतिस्पर्धा नै चल्यो । सुरुमा मैले नाम निकाले पनि अहिले दुवै अधिकृत बनेका छौँ ।’

आर्थिक स्थितीले साथ नदिए पछि लोकसेवा !
बिज्ञान विषयमा स्नातक उर्तिण गरेकी बसन्ती विदेश जान चाहन्थिन । तर पारिवारिक स्थितीले उनको त्यो सपना पुरा हुन सकेन ।

वि.सं. २०७४ सालमा स्नातक सके पछि उनी काठमाडौँ हानिइन । बिदेश जान नपाए पछि उनको ध्यान लोकसेवातिर मोडिएको थियो ।

काठमाडौँमा उनले लोकसेवा आयोगको तयारी गर्न थालिन । बसन्तीले वि.सं. २०७६ सालमा पहिलो प्रयासमै उनले वि.सं. २०७६ मा स्थानीय तहमा प्रशासनतर्फ सहायक स्तर ५ औँ तहमा नाम निकालिन् ।

पार्वतीको पनि एसएलसी उर्तिण गरे पछि नर्सिङ्ग तथा बिज्ञान अध्ययन गर्ने योजना थियो । तर परिवारको आर्थिक स्थितीले उनलाई पनि साथ दिएन ।

‘बुवा खेती किसानी गर्नुहुन्थ्यो । आइएससी अथवा नर्सिङ्ग गर्ने मन थियो । नर्सिङ्गको छात्रवृत्तिमा नाम पनि निस्किएको थियो,’ पार्वतीले भनिन्, ‘छात्रवृत्ति बाहेकको रकम तिर्न नसकिने स्थिती भए पछि अंग्रेजी पढ्न थालेकी थिएँ ।’

अध्ययनसंगै शिक्षण पेसामा संलग्न भएर खर्च जोहो गर्नु पर्ने अवस्था रहेको उनी सम्झिन्छिन् । ‘दिदीले स्कुलमा पढाउँदै पढनु भएको हो । सामान्य शिक्षण गरेर आफ्नो पढाईलाई पनि निरन्तरता दिन सकिन्छ भनेर अंग्रेजी पढेँँ’, उनले भनिन्, ‘सामान्य ज्ञानतर्फ रुचि हुनाले संगसंगै लोकसेवाको पनि तयारी अगाडि बढाए ।’ उनका अनुसार पारिवारिक तथा शैक्षिक खर्च दाईको तलबमा नै निर्भर रहेको थियो ।

सफलताको सूत्र
बसन्ती वि.सं. २०७६ सालमा सहायकस्तर ५ औँ तहमा नाम निकालेर बेलौरी नगरपालिकामा खटिइन् । उनकी दिदी पनि बेलौरीमै कार्यरत थिइन । त्यहाँ काम गर्ने क्रममै उनीहरुले मिलेर अधिकृतको लागि पढाई गरे ।

दिउँसो कार्यालयमा काम गर्थे भने बिहान/बेलुका नियमित अध्ययन गर्ने गरेको उनीहरु बताउँछन् । बहिनी बसन्तीले दिदी पार्वतीको विषयगत ज्ञान र सरकारी जागिरको अनुभवले आफूलाई फाइदा पुगेको बताइन् ।

शाखा अधिकृतमा उर्तिण भएकी बसन्ती भट्ट

‘हामीसँगै बसेर छलफल गरेर पढ्थ्यौँ । दिनमा कामको तनाव एकापट्टी हुन्थ्यो । तर पनि हामीले पढ्न छाड्थेनौँ,’ बसन्तीले भनिन्, ‘सँगै पढ्ने, सँगै काममा जाने हुँनाले पनि दिदीसँग भएको विषयगत ज्ञान र अनुभव समेतको फाइदा मैले पाएँ ।’

काठमाडौँमा लोकसेवाको तयारी गरेकी बहिनीसंग छलफल गरेर निरन्तर अध्ययन गर्दा आफू सफल भएको पार्वतीले बताइन । ‘अध्ययनमा निरन्तरता हुनै पर्छ । दृढ विश्वासका साथ निरन्तर अध्ययन गर्दा नै सफल भएको लाग्छ ।’ उनले भनिन् ।

ताजा समाचार