काठमाडौँ । चर्चित अभिनेता एवम् मोडल पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ।
पोखराकी गायिका समीक्षा अधिकारीले बुधबार आफ्ना आमाबाबुसहित तनहुँ पुगेर बलात्कार मुद्दामा जाहेरी दिएकी हुन्।
काठमाडौंबाट नातेदारसहित तनहुँ पुगेकी उनले पोखराबाट बाबुआमा आएर सनाखत गरेपछि जाहेरी दिएकी हुन्।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार बाबुआमाले जाहेरीमा सनाखत गरिसकेपछि बुधबार अपरान्ह तनहुँ प्रहरीमा जाहेरी दर्ता भएको हो।
नाबालिग गायिकालाई विवाह गर्ने प्रलोभन देखाएर जवरजस्ती यौन सम्बन्ध राखेको भन्दै पलविरुद्ध उजुरी परेको हो।
समीक्षाले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिन खोजेकी थिइन्। तर कास्कीले घटना आफ्नो कार्यक्षेत्र बाहिर रहेको बताएर तनहुँ जान भनेको थियो।
जाहेरी पर्ने थाहा पाएपछि पलले समीक्षालाई यो घटना ढाकछोपका लागि अनेक प्रयत्न गरेका थिए। केही पत्रकार र म्युजिक भिडिओ निर्देशकसमेत लागेर यो घटना मिलाउने कोसिस भएको थियो।
पलले विगतमा जे भयो भयो बरु बिहेसमेत गरेर जान तयार रहेको पनि उनलाई बताएको अडियो बाहिरिइसकेको छ। पछिल्लो समय यो प्रकरण लुकाउने नाममा समीक्षालाई होस्टायल गराउने प्रयास पनि भएको थियो।
नाबालिका उनलाई प्रेमी प्रेमिकाबीच सहमतिमा यौनसम्बन्ध सामान्य भएको भन्दै बरु आफू बिहेका लागि तयार भएको पलले बताउँदै आएका थिए। तर उनी अझै पनि १७ वर्षमै छिन्।
कानुनले १८ वर्ष मुनिकासँग सहमतिमा यौनसम्बन्ध गरे पनि बलात्कार भन्छ। केही दिनयता सार्वजनिक अडियोमा पनि पलले उनीसँग यौनसम्बन्ध भएको स्वीकारेका छन्।
१६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।