सीसीटिभीले खोलेको भारतीय नागरिक हत्याको रहस्य

Share post:

महेन्द्रनगर । २३ फागुन बिहान १० बजेतिर जिल्ला प्रहरी कार्यालय कैलालीमा एक युवतीको फोन आयो । धनगढी उपमहानगरपालिका–५ केराबारीस्थित शिवनगर–जाई सडकखण्डमा हिँडिरहेकी उनले नालीमा एक जना पुरुष लडेको देखेकी थिइन ।

ती युवतीले यस बारेमा प्रहरीलाई जानकारी फोन गरिन् । त्यस लगत्तै प्रहरी टोली करेसाबारी पुग्यो । शिवनगर–जाई सडकखण्डको नालीमा शंकास्पद अवस्थामा पुरुषको शव भेटिएको थियो ।

मृतकको टाउको, कानमा कसैले पिटेको जसरी चोटपटक लागेको थियो । शवसंगै रगत लागेको काठ पनि भेटिएको थियो । प्रहरीले गुप्ताको हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान सुरु ग-यो । घटनास्थलमा तालिम प्राप्त कुकुर प्रयोग गरियो ।

झट्ट हेर्दा ३५–४० वर्ष उमेरका जस्ता देखिने मृतकको पहिचान खुल्न सकेको थिएन । उनको साथमा परिचय पुष्टि गर्न न मोबाइल थियो न कुनै परिचय पत्र नै । त्यसले गर्दा प्रहरीलाई मृतकको पहिचान गर्नै हम्मेहम्मे परेको थियो ।

पहिचान नखुलेकाले प्रहरीलाई घटनाको अनुसन्धान अगाडि बढाउन चुनौती थपियो । यस पछि हत्याको खबर यत्रतत्र फैलिए पछि मात्रै मृतकको पहिचान खुलेको थियो ।

मृतक भारतको उत्तरप्रदेशको सहेजापुराका अन्दाजी ४२ वर्षीय कुलदीप गुप्ताको थिए । उनी केही वर्षदेखि धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाम नजिक डेरा गरेर बस्ने लगायत उनको विवरण प्रहरीले प्राप्त ग-यो ।

त्यस पछि घटनाको अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संलग्न २ जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय (कैलाली)का अनुसार घटनामा संलग्न बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का २४ वर्षीय राजेन्द्र बुढा र २० वर्षीय भुपेन्द्र बुढालाई नियन्त्रणमा लिइएको हो ।

‘घटनामा संलग्न २ जनालाई पक्राउ गरेका छौँ । उनीहरुले अपराध स्विकारेका छन् ।’ डिएसपी बेदप्रकाश जोशीले भने, ‘अभियुक्त र मृतकबीच चिनजान नै थिएन । घटनाको पूर्वयोजना केही देखिदैन ।’

उनका अनुसार अटो भाडाका बिषयमा विवाद हुँदा राजेन्द्र र उनका साथी मिलेर भारतीय नागरिक गुप्ताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

मृतकले धनगढीमा सामान्य काम समेत गर्दै आएका थिए । गुप्ता ८ महिना अगाडि आफ्नो परिवारसहित भारत गएका थिए । त्यसपछि उनी फागुन २१ गते बिहान मात्रै भारतबाट धनगढी फर्किएका थिए ।

उनी फागुन २२ गते बिहान धनगढी उपमहानगरपालिका–८ मा बस्ने भाई सुमित गुप्ताबाट काम खोज्न जान्छु भनेर निस्किएका थिए ।

त्यसपछि उनी धनगढीमै काम खोज्न थालेका थिए । प्रहरीका अनुसार उनले २२ गते नै धनगढी उपमहानगरपालिका–१ मा गोपाल मिश्राले सञ्चालन गरेको मिल्की फन आइसक्रिममा काम पाए ।

२२ गते दिनमा मृतकले आइसक्रिम बिक्री गरे र बेलुका कमिसनबाट प्राप्त एक हजार २ सय ४० रुपैयाँ बुझेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यस पछि मादक पदार्थ सेवन गरेर बेलुका उनी दाई प्रदीपकोे डेरामा पुगेका थिए । कुलदीपले दाइसंग पैसा मागेको र सोही विषयमा सामान्य विवाद पछि राती नै उनी त्यहाँबाट हिँडेका थिए ।

‘सीसीटीभी फुटेजको सहायताले हामी अपराधीसम्म पुग्न सफल भएका छौँ,’ डिएसपी जोशीले भने, ‘९ बजेतिर दाइको बाट निस्केको सूचना पछि हामीले सीसीटिभी केलाउन थाल्यौँ ।’

कुलदिप अदालत रोड हुँदै पार्कमोडसम्म पुगेको फुटेजमा देखियो । राती ९ बजेपछि प्रदेश सभा भवन अगाडि उनी निलो रङको अटोमा बसेर नैनादेवीसम्म पुगेको सिसिटिभी फुटेजमा देखिएका छन् ।

अटोको अगाडि पट्टी बसेकाले फुटेजमा मृतकलाई चिन्न सकिएको थियो । त्यस पछि प्रहरीले निलो रङको सो अटोको खोजी थाल्यो । सीसीटीभी फुटेज केलाउँदै जाँदा प्रहरीले शुक्रबार बिहान कुलदीप चढेको से १ ह २८६६ नम्बरको अटो फेला पारेको थियो ।

अटो चालक राजेन्द्रलाई मृतक कुलदिपका बारेमा सोध्दा उनले प्रहरी समक्ष अपराध स्विकारे । घटनामा उनकै साथी भुपेन्द्रको पनि संलग्नता रहेको प्रहरीले बताएको छ ।

अभियुक्तद्धयले प्रहरीमा दिएको बयान अनुसार घटनाको राती राजेन्द्र र उनका साथी भुपेन्द्रले रुबस होटल अगाडिको एउटा मदिरा पसलमा बसेर मदिरा सेवन गरे । संगै मदिरा सेवन गरेका साथीलाई आफ्नै डेरा (जाई)मा सुत्ने भनेर उनीहरु त्यहाँबाट हिडे ।

डेरामा जान लागेका अटो चालक राजेन्द्र र भुपेन्द्रसंग पार्कमोडस्थित प्रदेश सभा अगाडि कुलदीपको भेट हुन्छ । जाई जाने भन्दै कुलदीप पनि सोही अटो चढे ।

उनीहरु नैनादेवी मन्दिर, चक्मेली बजार, शिवनगरको बाटो हुँदै गइरहेका थिए । त्यहीँ बेलामा राजेन्द्रले कुलदीपसंग अटो माग्छन् । तर कुलदीपले अटो भाडा दिन मानेनन् ।

शिवनगर–जाई सडकखण्डका कल्भर्ट नजिक पुगे पछि त भाडाकै बिषयमा कुलदीप, राजेन्द्र र भुपेन्द्रबीच झगडा भयो । त्यस क्रममा कुलदीप सडकबाट नालीमा खस्छन् ।

भुपेन्द्रले अटोमा रहेको काठको टुक्रा निकालेर कुलदीपमाथी प्रहार गरेर हत्या गरेका थिए । ‘भाडाको बिषयमा झगडा हुँदा नेपाली लोग भनेर गालीगलौज गर्न थाले पछि काठ प्रहार गरेका थियौँ,’ अभियुक्तको बयान उदृत गर्दै डिएसपी जोशीले भने, ‘मदिरा सेवन गरेकाले रिसको आवेगमा काठ प्रहार गर्दा घाइते भयो भनेर छोडेका थियौँ । मृत्यु नै भएछ ।’

प्रहरीका अनुसार उनीहरु विरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार