उद्योगमन्त्रीको गृहजिल्लामा ढल्यो कांग्रेसको विरासत, सबै पालिकामा एमाले–माओवादी

Share post:

महेन्द्रनगर । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला दार्चुलामा कांग्रेसले विरासत गुमाएको छ ।

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रसंग चुनावी गठबन्धन गरेर चुनावमा गएको कांग्रेसले यसपटकको स्थानीय तह निर्वाचनमा वि.सं. २०७४ को आफ्नो विरासत कायम राख्न सकेन ।

दार्चुलामा सत्तासाझेदार नेकपा एकीकृत समाजवादीलाई पाखा लगाउँदै माओवादी र कांग्रेसले छुट्टै चुनावी तालमेल गरेका थिए ।

जिल्लामा ०७४ को चुनावमा पहिलो शक्ति रहेको कांग्रेस यस पटक तेस्रो शक्तिमा खुम्चिन पुगेको हो । २ नगरपालिका र ७ गाउँपालिका गरेर दार्चुलामा ९ स्थानीय तह छन् ।

कांग्रेसले ०७४ मा शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै जितेको थियो भने मालिकार्जुन गाउँपालिकाको अध्यक्ष जितेको थियो ।

४ स्थानीय तह प्रमुख उपप्रमुख दुवै र १ स्थानीय तह प्रमुख मात्रै जितेको कांग्रेस यसपटकको चुनावमा कमजोर देखिएको छ ।

पालिका प्रमुखमा कांग्रेस ‘क्लिन स्वीप’
दार्चुलाका पालिका प्रमुखमा कांग्रेस ‘क्लिन स्वीप’ भएको छ । कांग्रेस र माओवादीको सहमति बमोजिम ९ स्थानीय तहमध्ये २ नगरपालिकासहित ५ पालिकाको नेतृत्वमा कांग्रेस र ४ मा माओवादीले उम्मेदवार उठाएको थियो ।

यस्तै २ वटा पालिका उपाध्यक्षमा माओवादी केन्द्र र ७ वटाको उपप्रमुख वा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार खडा गरेको थियो ।
कांग्रेसको भागमा परेको ५ वटै पालिका प्रमुखमा कांग्रेस पराजित भएको छ । यसपटक कांग्रेस दार्चुलाका पालिकामा प्रमुख विहिन बनेको छ ।

भागबण्डामा कांग्रेसले जहाँ प्रमुख पाएको थियो त्यहीँ एमालेसंग पराजित भएको हो । कांग्रेसले भागबण्डामा पाएको ७ वटा उपप्रमुखमध्ये पनि ४ वटामा मात्रै जित निकाल्न सफल भएको छ ।

०७४ सालको पहिलो शक्ति कांग्रेसले दार्चुलाको अपिहिमाल, दुहुँ, नौगाड र मार्मा गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

एमालेले बढायो
सत्तागठबन्धन विरुद्ध एक्लै चुनाव लडेको नेकपा एमाले यहाँ पहिलो शक्ति बनेको छ । एमालेले शैल्यशिखर र महाकाली नगरपालिकामा मेयर उपमेयर दुवै जितेको छ ।

अन्य तीन पालिका मालिकार्जुन, दुहुँ र व्याँसमा पनि एमालेले जितेको छ । यी पालिकामा अध्यक्ष मात्रै जितेको छ । यस्तै लेकम गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेले बाजी मारेको छ ।

यसअघि ०७४ सालको चुनावमा एमालेले तीन पालिका नौगाड, अपिहिमाल, लेकममा प्रमुख उपप्रमुख दुवै जितेको थियो भने मालिकार्जुनमा उपाध्यक्ष मात्रै जितेको थियो ।

माओवादीलाई ‘मालामाल’
तेस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्रले गठबन्धनले गर्दा शक्ति बढाएको छ । माओवादीले गठबन्धनको भागबण्डामा पाएका ४ वटै पालिकाको प्रमुखमा जित हात पारेको छ ।

उसले अपिहिमाल, नौगाड, मार्मा र लेकम गाउँपालिका गरेर ४ पालिकाको नेतृत्वमा कब्जा जमाएको छ । यस्तै भागबण्डामा माओवादीले उपाध्यक्ष पाएको व्याँस र मालिकार्जुन गाउँपालिकामा पनि माओवादी जितेको छ ।

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी एक मात्र मार्मा गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा जितेको थियो ।

पालिकाको विवरण
शैल्यशिखर नगरपालिका
शैल्यशिखर नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले जितेको छ ।

शैल्यशिखरको मेयरमा कांग्रेसका अमर सिंह धामीलाई हराउँदै एमालेका विजय सिंह धामी निर्वाचित भए ।

उपमेयरमा पनि एमालेकी शान्ति खडायतले कांग्रेसका राजमती बमलाई पछि पार्दै विजयी भए ।

महाकाली नगरपालिका
महाकाली नगरपालिकामा पनि मेयर र उपमेयर दुवै एमालेले जित्यो ।

मेयरमा कांग्रेसका हंशराज भट्टलाई पराजित गर्दै एमालेका नरसिंह चैंसिर विजयी भए ।

उपमेयरमा कांग्रेसकी सुना बोहरालाई हराउँदै एमालेकी दुर्गा खत्री निर्वाचित भइन् ।

अपिहिमाल गाउँपालिका
अपिहिमाल गाउँपालिकाको अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसले हात पारेको छ ।

अध्यक्षमा माओवादीका भक्त सिंह ठेकरे एमालेका धर्मानन्द सिंह मन्याललाई उछिन्दै अध्यक्षमा बाजी मारे ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी देवकी बोहरा एमालेकी उर्मिला बोहरालाई पछार्दै विजयी भइन् ।

दुहुँ गाउँपालिका
दुहुँ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भयो ।

एमालेका नरबहादुर बडाल कांग्रेसका पुलेन्द्र बहादुर कार्कीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए ।

कांग्रेसकी शान्ति बम एमालेकी ताराकेशरी कुँवरलाई उछिन्दै उपाध्यक्षमा विजयी भएकी छन् ।

नौगाड गाउँपालिका
नौगाडको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा माओवादीका दलजित सिंह धामी एमालेका प्रेमसिंह धामीलाई पराजित गर्दै निर्वाचित भए ।

उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्ना एमालेका गौरीदेवी ठगुन्नालाई पछाडि पार्दै विजयी भए ।

व्याँस गाउँपालिका
व्याँसको प्रमुख र उपप्रमुखमा एमाले र माओवादीले बाजी पारेको छ ।

अध्यक्षमा कांग्रेसका दिलिपसिंह बुढाथोकीलाई पराजित गर्दै एमालेका मंगलसिंह धामी विजयी भए ।

यस्तै उपाध्यक्षमा एमालेकी चन्द्रा कुवँरलाई हराउँदै माओवादी केन्द्रका विनोदसिंह कुवँर निर्वाचित भए ।

मार्मा गाउँपालिका
मार्मामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्र र कांग्रेसले बाडेका छन् ।

अध्यक्षमा एमालेका देवसिंह महरलाई पराजित गर्दै माओवादीका जमनसिंह धामीले सफलता हात पारे ।

उपाध्यक्षमा एमालेका राजु धामीलाई पछि पार्दै कांग्रेसकी सर्मिला सिंह चन्द विजयी भएकी छन् ।

मालिकार्जुन गाउँपालिका
मालिकार्जुनमा अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रले सफलता पाएको छ ।

अध्यक्षमा कांग्रेसका नरेन्द्र सिंह धामीलाई उछिन्दै एमालेका हिरासिंह धामी विजयी भए ।

यस्तै उपाध्यक्षमा एमालेकी गोमती भट्टलाई पराजित गर्दै माओवादीका कल्याण सिंह धामी विजयी भए ।

लेकम गाउँपालिका
लेकमको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका प्रमानन्द जोशीलाई पराजित गर्दै माओवादी केन्द्रका रामदत्त जोशी पालिका अध्यक्ष बने ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी सुना जोशीलाई उछिन्दै एमालेकी माधवी जोशीले बाजी मारिन् ।

ताजा समाचार