कञ्चनपुर । भीमदत्त नगरपालिका ३९ करोड बढी ऋण रहेको पाइएको छ । नगरमा नयाँ नेतृत्व आएसंगै भीमदत्तले श्वेत पत्र जारी गर्दै विगतको सरकारको पालामा पालिका ३९ करोड ३३ लाख ८८ हजार ८३८ रुपैया ऋण रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
जसमा प्रशासनीक भवनको संघबाट प्राप्त हुने सम्पूरक रकम रु. ६ करोड ७५ लाख बाहेक कूल पुँजीगततर्फ ३८ करोड ६८ लाख ४१ हजार ९९८ र चालुतर्फ ६५ लाख ४६ हजार ८४० रुपैया नगरले तिर्न बाँकी छ ।
बजेटको सुनिश्चितता नभइ बोलपत्र आह्वान गरी ठेक्कापट्टा, पटक पटक ठूलो आकारमा रकमान्तर, श्रोतले धान्न नसक्ने किसिमका आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन रकम खर्च, नगरको आन्तरिक श्रोतले धान्नै नसक्ने गरी कर्मचारी भर्ना, इन्धन र मर्मत खर्चमा मितव्ययिता तथा पारदर्शिता नहुनु र विकास निर्माणका काम ठूलो मात्रामा कोटेशनबाट गरिएको आर्थिक व्ययभार थपिएको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।
नगरपालिकाको तिर्नु बाँकी नियम संगत रकम तथा दायित्वलाई आन्तरिक श्रोतले मात्रै नधान्न सक्ने उनले बताए । त्यसका लागि संघ र प्रदेश सरकारसंग पहल गर्दै वित्तिय दायित्वलाई घटाउँदै आवश्यक निर्माणका कामहरु सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
यस्तै, नगरपालिकाभित्र भएका अनियमिततालाई छानविनको दायरामा ल्याई पारदर्शिता र सुशासन कायम गरिने प्रवक्ता खड्काको बताउँछन् ।
भीमदत्त नगरपालिकाको ७ गते बस्ने नगर सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । १९ वडा रहेको भीमदत्तमा अहिले नेपाली कांग्रेसका पदम बोगटीको नेतृत्वमा कांग्रेसको बहुमत छ । यसअघि नेकपा एमालेका सुरेन्द्र बिष्टको नेतृत्वमा एमालेको बहुमत रहेको थियो ।