अवैध सम्बन्धको शंकाले श्रीमानसँग विवाद, छोराछोरीको हत्यापछि गीता पनि ‘झुण्डिइन्’ !

विज्ञापन

Share post:

कञ्चनपुर । करिब ६ वर्षअघि बझाङको बुंगल नगरपालिका–९ रारुका पुष्कर पार्की र वित्थडचिर गाउँपालिका बिरकुल्लाकी गीता पार्कीबीच विवाह भयो ।

भारतमा काम गर्ने पुष्करले प्रेम सम्बन्धमा रहेकी गीतासंग भागेर विवाह गरेका थिए । त्यस पछि पुष्कर र गीताको परिवारले उनीहरुको विवाहलाई स्वीकारे ।

सवारी चालक रहेका पुष्कर भारतमा काम गर्थे । विवाह पछि उनी भारत आवतजावत गरिरहन्थे ।

घरखर्च चलाउन उनी खेतीपाती सकेर भारत जान्थे र खेतीपातीको समयमा घर फर्किन्थे । पुष्करको ४ जनाको परिवार थियो– आफू, श्रीमती गीता, ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय छोरा मोहित ।

उनीहरुको घर राम्रै चलिरहेको थियो, २०७८ साल साउन १९ गतेसम्म । पुष्कर भारतमा रहेका बेला उनकी श्रीमती गीता गत साउन १९ गते जबरजस्ती करणीको सिकार बनिन् ।

पुष्करका दाइ नाता पर्ने गणेश पार्कीका अनुसार झलक नेपालीलाई पुष्करले घर बनाएर आफै जमीनमा बस्न दिएका थिए । नेपाली सिलाइ कटाइको काम गर्थे ।

उनले पुष्करकी श्रीमतीलाई गिद्दे नजर लगाए । गत साउन १९ गते राती मदिरा सेवन गरेर गीतामाथी झलकले घरमै जबरजस्ती करणी गरेका थिए ।

‘त्यो घटना पछि गाउँलेहरु मिलेर उनलाई (झलक) नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थियौँ,’ गणेशले दैनिक सञ्चारसंग भने, ‘यो घटना पछि पुष्कर र गीताको सम्बन्ध पुरानो जस्तो थिएन ।’

जबरजस्ती करणीको आरोप लागेका नेपाली अहिले पुर्पक्षका लागि बझाङ कारागारमा छन् । जबरजस्ती करणीको घटना भएपछि पुष्करको परिवारमा खटपट पर्ने गरेको थियो ।

‘घटना पछि पुष्करको अवस्था अगाडि जस्तो थिएन, टोलाइ रहन्थ्यो, मदिरा सेवन गर्ने गर्थे,’ उनले भने, ‘परिवारमा पनि मेल थिएन, श्रीमतीसंग भनाभन भइरहन्थ्यो ।’

करणीको घटनापछि गीता पनि मानसिक रुपमा विक्षिप्त बनेकी थिइन् । एक हप्ताअघि भारतको पिढौरागढबाट पुष्करले श्रीमती गीतालाई फोन गरे । तर मोबाइल व्यस्त भएपछि पुष्कर उनीसंग झर्किए । पुष्करले श्रीमतीमाथी चरित्रको प्रश्न उठाउथे । त्यसले गर्दा परिवारमा मेल थिएन ।

पुष्करले श्रीमती गीताको अनैतिक सम्बन्धको आशंका गर्ने गरेको र यसले गर्दा उनीहरुबीच खटपट हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

गत मंगलबार पुष्कर पिढौरागढबाट घर फर्किए । मध्यराती १२ बजे मदिरा सेवन गरेर घरमा पुगेका पुष्कर र गीताबीच भनाभन भएको थियो ।

त्यस पछि उनीहरुबीचको विवाद बढे पछि १२ बजे पछि गीताले छोराछोरी सहित आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘घटना प्रकृति हेर्दा प्रारम्भिक अनुसन्धानले आत्महत्या नै देखाएको छ, मृतकको पोष्टमार्टम गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले भने, ‘पोष्टमार्टम रिपोर्टले पनि घटनाको बारेमा विस्तृत खुल्छ ।’

खाना खाँदा भनाभन भएपछि आफू सुतेको र बिहान श्रीमती, बालबच्चा घरमा नहुँदा खोजी गर्दा झुण्डिएको देखेको पुष्करको दाबी छ ।

‘बेला बेलामा फोन गरेर पुष्करले श्रीमतीलाई छोराछोरीको हेरबिचार गर्नू भनेको थिए, मोबाइल व्यस्त किन थियो ? भनेर राती भनाभन भएको रहेछ,’ पुष्करका दाइ गणेशले भने, ‘अगाडिको जस्तै घटना होला भनेर सजग गराउथे, प्रेम गरेर ल्याएको श्रीमतीलाई कहिल्यै कुटेको छैन भनेर भाइले भन्ने गरेको थियो ।’

मृतक गीताका माइती पक्षले श्रीमान् पुष्कर विरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन् । अहिले उनी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली पनि परिचालन भएको छ ।

ताजा समाचार