एनपीको क्षेत्रमा रमेशको दाबी, टिकटमा को होला हाबी ?

विज्ञापन

Share post:

कञ्चनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन पक्ष दुई धारमा विभाजित छ । यहाँबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने कांगेसका केन्द्रीय सदस्यद्धय रमेश लेखक र एनपी साउदे संस्थापन पक्ष निकट नेता हुन ।

प्रधानमन्त्री एंवम् कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेताद्धय लेखक र साउदले गृहजिल्लामा वर्चश्व बढाउन आ–आफ्नै उपगुट चलाइरहेका छन् ।

संस्थापन इतर समूह कमजोर रहेको कञ्चनपुरमा कांग्रेसको अधिवेशन, चुनावता टिकटका लागि उनीहरुबीच नै प्रतिस्पर्धा हुने गरेको छ ।

पूर्वमन्त्रीद्धय लेखक र साउदबीचको संघर्ष चुनावका बेला झनै चर्किने गरेको छ । यसपटकको संसदीय चुनावमा कांग्रेसभित्र टिकटका लागि उनीहरुबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

नेता एनपी साउदको निर्वाचन क्षेत्र कञ्चनपुर–२ मा निवर्तमान सभापति हरी बोहराले चुनाव लड्ने बताएका छन् । क्षेत्र नम्बर २ बाट निर्बिकल्प उम्मेदवारका रुपमा हेरिएका साउदलाई बोहराले यसपटक चुनौती दिएका छन् ।

कञ्चनपुर–२ बाट चुनाव लड्ने घोषणा गरेका कांग्रेस नेता हरी बोहरा ।

संस्थापन समूहका बोहरा कञ्चनपुरमा रमेश लेखक निकट नेता मानिन्छन् । कांग्रेस नेता बोहराले क्षेत्र नम्बर २ मा दाबी प्रस्तुत गरे पछि कांग्रेसमा हलचल पैदा गरेको छ ।

साउदले क्षेत्र नम्बर २ मा वि.सं. २०६४ मा चुनाव हारेका थिए । त्यसपछि ०७० मा त्यहीँबाट उनी विजयी भए । यी दुई निर्वाचनमा कञ्चनपुरमा ४ वटा निर्वाचन क्षेत्र रहेका थिए ।

तीन निर्वाचन क्षेत्र भएपछि वि.सं. २०७४ सालको निर्वाचनमा साउद बामगठबन्धनका नरबहादुर धामीसंग पराजित भएका थिए । त्यसअघि २०५१ सालको आम निर्वाचन पनि साउदले हारेका थिए ।

‘लोकतन्त्रमा निर्बिकल्प कोही हुदैन, गत चुनावका बेला सभापति हुँनाले दाबी गर्न सकेन, यसपटक आँकाक्षा राखेको छुँ,’ बोहराले दैनिक सञ्चारसंग भने, ‘टिकटका लागि केन्द्रमा लबिङ्ग गरिरहेको छुँ ।’

नेताद्धय बोहरा र साउदले निर्वाचन क्षेत्रमा चुनाव केन्द्रीत गतिविधिमा सक्रियता बढाएका छन् ।

अगामी मंसिर ४ गते हुने प्रदेश र संघीय चुनावमा पनि सत्तागठबन्धनलाई निरन्तरता दिने निर्णयसंगै गठबन्धनका दलहरुले क्षेत्र भागबन्डाका लागि कार्यदल गठन गरेर भागबण्डा मिलाउने काम गरिरहेको छ ।

तीन संघीय निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र २, ३ कांग्रेस र १ माओवादी केन्द्रले पाउन सक्ने प्रबल सम्भावना रहेको नेताहरु बताउँछन् ।

गठबन्धनको भागबण्डा सकस बनेको अवस्थामा कांग्रेसले क्षेत्र नम्बर २ पाएमा टिकट कस्लाई दिने भन्ने विषय पनि थप पेचिलो बन्ने देखिएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका नेता रमेश लेखकको क्षेत्र हो । वि.सं. २०७४ सालको निर्वाचनमा उनी बामगठबन्धनका उम्मेदवार डा. दीपक प्रकाश भट्टसंग झिनो मतान्तरले पराजित भएका थिए ।

यसपटक पनि चुनाव लड्ने तयारी गरेका नेता लेखक निर्वाचन क्षेत्रमा खटिइसकेका छन् । उनलाई चुनौती दिने गरी कांग्रेसमा अहिलेसम्म अन्य कसैले दाबी गरेका छैनन् ।

बोहराले क्षेत्र नम्बर २ मा दाबी प्रस्तुत गरेपनि टिकट पाउने सम्भावना न्यून रहेको कांग्रेस नेताहरुको बुझाइ छ ।

‘क्षेत्र नम्बर २ मा एनपी दाइको प्रभाव बढि छ, केन्द्रमा पनि राम्रो सम्बन्ध छ,’ एक नेताले भने, ‘यस क्षेत्रका लागि उहाँ (एनपी) कांग्रेसको निर्बिकल्प उम्मेदवार हो, यो क्षेत्र गठबन्धनको भागबण्डामा कांग्रेसकै भागमा पर्छ, उहाँ नै चुनाव लड्नुहुन्छ ।’

ताजा समाचार