महेन्द्रनगर । आउँदो मंसिर ४ गते तोकिएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको सरगर्मी बढेको छ । यो चुनावमा सत्तारुढ गठबन्धनले तालमेल गरेर निर्वाचनमा होमिने औपचारिक निर्णय गरिसकेको छ ।
सत्तागठबन्धन कार्यदल बनाएर अहिले सीट बाँडफाँडको गृहकार्य गरिरहेको छ । ०७४ सालमा माओवादीसंग चुनावी तालमेल गरेर गएको नेकपा एमाले यसपटक एक्लै सत्तागठबन्धन विरुद्ध एक्लै चुनावी मैदानमा उत्रिनु पर्ने बाध्यात्मक अवस्थामा छ ।
निर्वाचनको मिति तोकिएसंगै शहर बजार गाउँघरमा चुनावी चर्चा सुरु भएको छ । कुन क्षेत्रबाट कस्ता उम्मेदवार उठ्लान भनेर मतदाताहरु अड्कलबाजी गर्न थालिसकेका छन् ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा यति बेला चर्चामा छ ।
डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ । देउवाको गृहजिल्ला भएको हुनाले पनि प्रतिनिधि सभाको सीट कांग्रेसले गठबन्धनका अन्य दलहरुलाई दिदैन ।
डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा नै चुनावी मैदानमा उत्रिने छन् । यद्यपी, पत्नी आरजु सुरक्षित राख्न डडेल्धुरा छोडेर देउवा आफू अन्यत्रबाट चुनाव लड्ने चर्चा पनि व्यापक छ ।
देउवा २०४८ सालपश्चात् निरन्तर सबै निर्वाचनमा डडेलधुराबाट विजयी हुँदै आएका छन् । उनी हालसम्म ६ पटक निर्वाचित भइसके । मंसिर ४ को निर्वाचन उनका लागि सातौं प्रतिस्पर्धा हुनेछ ।
संसदीय निर्वाचनमा देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा जीत निकालेर रेकर्ड कायम राख्न सफल भएका छन् । उनी सबैभन्दा कम मतान्तरले विजयी भएको ०६४ सालको पहिलो संविधान सभाको पहिलो निर्वाचनमा हो ।
तत्कालीन समयमा उनले माओवादीका उम्मेदवार खगराज भट्टलाई एक हजार ३६८ मतान्तरले पराजित गरेका थिए भने २०७४ मा ६ हजार ९२९ मतान्तरले हराए । अन्य निर्वाचनमा मतान्तर अझ बढी छ ।
०६४ सालको चुनावदेखि देउवासंग प्रतिस्पर्धा गरिरहेका माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट यसपटक गठबन्धनका कारण डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्न सक्दैनन् ।
यो पनिः देउवाका लागि डडेल्धुरा छोड्दा कहाँ जालान् खगराज भट्ट ?
कांग्रेसबाट कारबाहीमा परेका पूर्व सभापति कर्णबहादुर मल्लले देउवा विरुद्ध चुनाव लड्ने चर्चा छ । अहिले उनी नेपाली कांग्रेस बीपीको वरिष्ठ उपसभापति छन् ।
स्थानीय तहको निर्वाचनमा उनै मल्लले एमालेसंग तालमेल गरेर देउवाको गृहजिल्लामा कांग्रेसलाई चुनौती दिएका थिए । ०७४ को चुनावमा कांग्रेसबाट डडेल्धुरामा प्रदेश सभा सदस्य जितेका मल्लले देउवा विरुद्ध संघीय चुनाव लड्ने वा नलड्ने भनेर अझै खुलाएका छैनन् ।
प्रधानमन्त्री देउवाले झपारेर चर्चामा आएका गुल्मीका सागर ढकाल पनि देउवा विरुद्ध चुनाव लड्नै भन्दै डडेल्धुरामा छन् ।
ढकाललाई पाँच वर्ष अघि देउवाले प्रधानमन्त्री रहेकै बोला बीबीसीको साझा सवाल कार्यक्रममा झपारेका थिए ।
स्थानीय तहको निर्वाचनमा एमालेसंग तालमेल गरेको कांग्रेस बीपीले यसपटकको संघ र प्रदेश सभा सदस्य चुनावमा पनि तालमेल गर्न सक्ने नेताहरु बताउँछन् ।
स्थानीय निर्वाचन मतपरिणाम अनुसार डडेल्धुरामा कमजोर देखिएको नेकपा एमालेमा प्रतिनिधि सभाका लागि अहिलेसम्म कोही स्पष्ट रुपमा खुलेका छैनन् ।
सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री पठान सिंह बोहरा, एमाले डडेल्धुरा अध्यक्ष प्रकाश साउद तथा जिल्ला विकास समितिका पूर्व सभापति गजेन्द्र शाही प्रतिनिधि सभा उम्मेदवारका रुपमा प्रस्तुत हुन सक्ने एमाले डडेल्धुरामा चर्चा छ ।