काठमाडौँ । काभ्रेपलान्चोकमा एक बन्दकर्तामाथि निर्घात कुटपिट भएको छ। यात्रुबाहक बसमा ढुंगा हान्ने बन्दकर्तालाई सोही बसका यात्रु, चालक र सहचालकले पक्रेर कुटेको काभ्रेका प्रहरी प्रमुख एसपी चक्रबहादुर जोशीले जानकारी दिए।
पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको सार्वजनिक बसमा कालिकोट घर भएका विप्लवका कार्यकर्ता पल राउतले ढुंगा हानेका थिए। ढुंगाले लागेर बसको अगाडीको सिसा फुटेको छ।
बसमा आक्रमण गरेपछि सोही बसका यात्रु र कर्मचारी ओर्लिएर राउतलाई पक्रेर कुटपिट गरेका थिए। कालिकोट घर भएका राउत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कलाकारको केन्द्रीय कमिटीमा रहेको बताएका छन्।
‘बन्दकर्ताहरु झाडु लगाउने बहानामा सडकमा पुगेका थिए। बन्द गराउन थालेपछि उनीहरुलाई प्रहरीले पक्राउ गर्न खोज्यो। ७ जनालाई पक्राउ गरेपनि अरु भागे। भाग्ने क्रममा राउतले बसमा ढुंगा हानेछन्। बसको सिसा फुटेपछि यात्रु ओर्लिएर कुटपिट गरेछन्। पछि प्रहरी पुगेर उनलाई लिएर आयो’, एसपी जोशीले भने।
प्रहरीले पक्राउ गर्न खोजेपछि भागेका उनले बसमा ढुंगा हानेका थिए। काभ्रे प्रहरीले हालसम्म ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइसकेको एसपी जोशीले बताए।