कञ्चनपुर । चुनावको सम्मुखमा माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमका केही नेताले बिद्रोहको तयारी गरेका छन् ।
यहाँका एक जना संघीय समानुपातिक सांसद, प्रदेशका निवर्तमान मन्त्री, प्रदेश अध्यक्ष तथा निवर्तमान नगरप्रमुख सहितका नेताहरु समाजवादीबाट बिद्रोह गरेर मूल पार्टी एमालेमै फर्किने अन्तिम तयारीमा छन् ।
उनीहरुलाई यहीँ १५ गते कैलालीको धनगढीमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको एमाले स्रोतले जनाएको छ ।
संघीय सांसद वीना बुढाथोकी, सुदूरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिलामन्त्री तारालामा तामाङ, एकीकृत समाजवादी सुदूरपश्चिमका निवर्तमान अध्यक्ष विक्रमबहादुर शाही, बेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक चन्द, बीरबहादुर बुढाथोकी र लोकविक्रम थापा लगायत नेताहरु एमालेमा फर्किने लगभग पक्कापक्की भएको उक्त स्रोतको दाबी छ ।
यस्तै, बेदकोट नगरपालिकामा समाजवादीबाट मेयरको उम्मेदवार बनेका रामचन्द्र रेग्मी, कृष्णपुरका मेयरका प्रत्याशी सुरेन्द्र बम पनि एमालेमा फर्किने भएका छन् ।
‘उहाँहरुसँगै एकीकृत समाजवादीका अन्य नेताहरु पनि एमालेमा आउने कुरा छ,’ स्रोतले भन्यो, ‘त्यसका लागि एकीकृत समाजवादीका नेताहरु र एमालेका शीर्ष नेताहरुबीच छलफल जारी छ ।’
एमालेबाट बिद्रोह गरेर एकीकृत समाजवादी गठन गरेका माधव नेपालले नेकपा माओवादी केन्द्रमा पार्टी बिलय गराउने योजना बनाएको भन्दै बिद्रोहको तयारी गरिएको एकीकृत समाजवादीका एक नेताले बताए ।
‘एमसीसीमा पनि हाम्रो असहमति थियो, केन्द्रका नेताहरु एमसीसीको पक्षमा उभिए, अहिले माओवादीसँग एकीकरण गर्ने योजना बनाएका छन्,’ ती नेताले भने, ‘हामीहरु एमालेमै फर्किने तयारीमा छौं, अन्य साथीहरुलाई पनि एमालेमै फर्काउने गरी छलफल अगाडी बढाएका छौं ।’
आफू नेकपा एमालेमा फर्किन लागेको नेकपा एकीकृत समाजवादी कञ्चनपुरका उपाध्यक्ष समेत रहेका बेदकोट नगरपालिकाका पूर्व मेयर असोक चन्दले समेत पुष्टि गरे ।
उनले भने, ‘एमालेमै फर्किने अन्तिम तयारीमा छौँ, काठमाडौँबाट आज फर्किदै छुँ, जिल्ला, नगर तहमा छलफल गरेर १५ गते एमालेमै फर्किन्छौँ ।’
उता नेकपा एकीकृत समाजवादीका नेता तारालामा तामाङले पनि एमालेमा फर्किने गरी छलफल अगाडि बढेको बताए ।
‘कार्यकर्ता, मतदाताहरुको प्रेसर एमालेमै फर्किनु पर्ने भन्ने छ, छलफल जारी छ,’ उनले भने, ‘परिणाम आउने गरेर त्यसै उन्मुख घटनाक्रम विकास भइरहेको छ ।’
एमालेमा हुँदा कञ्चनपुरको अध्यक्ष समेत रहेका उनी सुदूरपश्चिम प्रदेश सभाको सदस्य पनि हुन । एमाले विभाजनमा समाजवादी रोज्दा तामाङ सुदूरपश्चिमको आर्थिक मामिलामन्त्री बनेका थिए ।
त्यसपछि उनलाई जानकारी नै नदिएर मन्त्रीबाट हटाएर केही महिना अगाडि समाजवादीकै प्रकाश रावललाई आर्थिक मामिला मन्त्री बनाइएको थियो ।
एकीकृत समाजवादी सुदूरपश्चिमका निवर्तमान अध्यक्ष विक्रम बहादुर शाहीले बिहिबारै समाजवादी छोडेको घोषणा गरेका छन् ।
शाहीले सामाजिक सञ्जालमार्फत आफूले पार्टी छोडेर अब कुनै दलसँग आबद्ध नरहेको जनाएका छन् ।
‘राष्ट्रघाती’ एमसीसी सम्झौता पास गर्नमा उनी आवद्ध पार्टी एकीकृत समाजवादीले पनि समर्थन गरेपछि रुष्ट बनेका शाही केही समययता पार्टीका काममा सक्रिय थिएनन् ।
त्यसैले एकीकृत समाजवादीको केन्द्रीय कमिटीले उनको अध्यक्षको जिम्मेवारी खोसेर उपाध्यक्ष रहेका हर्क बहादुर सिंहलाई प्रदेश अध्यक्ष बनाएको थियो ।
एमाले विभाजन गरेर कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई फाइदा पु¥याएकोमा पछुतो र आत्मग्लानी भएको शाहीले सामाजिक सञ्जालमा लेखेका छन् ।