बुढाथोकी दम्पत्ति समाजवादीमै, अन्तिममा यसकारण फर्किएनन् एमाले!

विज्ञापन

Share post:

कञ्चनपुर। नेकपा एमाले कञ्चनपुरले बुधबार महेन्द्रनगरमा जनसभा गर्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबाट थुप्रै नेता कार्यकर्तालाई एमाले गरायो। उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए।

जनसभाबाट नेकपा एकीकृत समाजवादीका नेता बीरबहादुर बुढाथोकीलाई पनि एमाले फर्किएको भनेर उनको नाम पनि उच्चारण गरियो। तर, उनी मञ्चमा देखिएनन्।

बुढाथोकीले आफू एमालेमा नफर्किएको र नेकपा एकीकृत समाजवादीमा नै रहेको बताएका छन्। ‘म एमाले फर्किएको छैन्, आज नाम उच्चारण गरिएको कुरामा मेरो सहमति छैन, म कार्यक्रममै गइनँ,’ उनले दैनिक सञ्चारसंग भने, ‘हामी नेकपा एकीकृत समाजवादीमा नै छौँ।’

उनकी पत्नी कञ्चनपुरबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादीकी समानुपातिक सांसद हुन।
बुढाथोकी दम्पत्ति नेकपा एकीकृत समाजवादी छोडेर नेकपा एमालेमै फर्किने तयारीमा थिए। त्यसका लागि बीरबहादुर बुढाथोकीले एमाले नेतृत्वसंग छलफल समेत अगाडि बढाएका थिए।

केही दिन अगाडि बालकोटमा एमाले फर्किने बारेमा बुढाथोकी लगायत चार नेताले केपी शर्मा ओलीसंग भेट गरेर कुराकानी गरेका थिए। सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री तारा लामा तामाङ, एकीकृत समाजवादीका निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही, नेताद्धय अशोककुमार चन्द र बीरबहादुर बुढाथोकी।

‘त्यो दिन फर्किनेमा बुढाथोकी जी सकारात्मक हुनुहुन्थ्यो, छलफलका क्रममा पनि त्यस्तै कुरा गर्नु भएको थियो,’ समाजवादीबाट एमालेका एक नेताले भने, ‘यसबीचमा उहाँलाई समाजवादीमै रहन निकै दबाब आएको देखिन्छ।’

नेकपा एमाले फर्किनका लागि छलफल भएको बुढाथोकी समेत स्वीकार्छन्। ‘दुई/तीन पटक छलफल भएको हो, तर म निष्कर्षमा पुगिसकेको थिइन।’ उनले भने।

बुढाथोकी एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आलेका भतिजा नाता पर्छन्। उनकै दबाबमा बुढाथोकी दम्पत्ति अन्तिम समयमा एमालेमा नफर्किएको बुढाथोकी निकट स्रोतले जनाएको छ।

एमालेमा फर्किने सहमति पश्चात् नै समाजवादीबाट फर्किने नेताहरुले दिएको नाम आफूले मञ्चबाट उच्चारण गरेको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले बताए।

‘उहाँको सहमतिमै नाम टिपाउनु भएको थियो, त्यसैले उच्चारण गरिएको हो,’ उनले भने, ‘भीडभाड थियो, मञ्चमा आउनु भयो वा भएन मैले विचार गरिनँ।’

ताजा समाचार