कञ्चनपुर। ९ औँ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषणा गरिएको सुदूरपश्चिमको क्रिकेट टीम विवादमा तानिएको छ।
टीममा छनोटमा परेका खेलाडीको नाम हटाएर नयाँ खेलाडीको नाम राखिएको भन्दै क्रिकेट टोली विवादमा तानिएको हो।
सुदूरपश्चिम प्रदेश क्रिकेट संघले छनोट गरेर पठाएका तीन जना खेलाडीको नाम सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले हटाएर नयाँ खेलाडीलाई टीममा समावेश गरेको छ।
यहीँ २३ गतेदेखि ९ औँ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुँदै छ। जसका लागि सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले राजु रिजालको नेतृत्वमा १४ सदस्यीय टीम छनोट गरेको थियो।
नारायण जोशी, शेर मल्ल, खडक बोहरा, हेमन्त धामी, बसन्त कार्की, गजेन्द्र बोहरा, युवराज खत्री, बिरेन्द्र नाथ, बसन्त खत्री, युवराज खत्री, भोजराज भट्ट, आदित्य महता र दिल बहादुर बोहरा छनोट भएका थिए।

युवराज १६ वर्ष मुनिको खेलाडी हुनाले उनको ठाउँमा पछि अनिल थापालाई क्रिकेट संघले छनोट गरेको थियो।
भदौँ १४ गतेदेखि १८ गतेसम्म धनगढीमा टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन गरेर सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको प्रावधिक टोलीले खेलाडी छनोट गरेर खेलकुद परिषदलाई पठाएको हो।
तर यीमध्ये खेलकुद परिषदले बैतडीका गजेन्द्र बोहरा, बिरेन्द्र नाथ र कञ्चनपुरका आदित्य महताको नाम काटेको छ। उनीहरुको ठाउँमा मिलन बोहरा, लोकेन्द्र चन्द, दीपक रोकाया र नरेन साउदलाई टिममा खेलकुद परिषदले राखेर सुदूरपश्चिम प्रदेशको टीम पठाएको छ।
अहिले रिजालको नेतृत्वमा रहेको सुदूरपश्चिमको टोलीमा खडक बोहरा, नारायण जोशी, हेमन्त धामी, शेर मल्ल, बसन्त कार्की, मिलन बोहरा, अनिल थापा, लोकेन्द्र चन्द, भोजराज भट्ट, बसन्त खत्री, दीपक रोकाया, नरेन साउद र दिलबहादुर बोहरा छन्।

‘गजेन्द्र, बिरेन्द्र, आदित्य सहित १४ जनाको नाम प्रावधिक टोलीले छनोट गरेकाले हामीले उहाँहरुको नाम खेलकुद परिषदमा पठाएका थियौँ,’ क्रिकेट संघका अध्यक्ष हरी रेग्मी दैनिक सञ्चारसंग भने, ‘परिषदको प्रावधिक टोलीले पनि खेल हेरेको भन्दै दुवैको राय अनुसार खेलाडी फेरबदल गरिएको भनिएको छ, यसमा हामीले समन्वयकारी भूमिका मात्रै निर्वाह गरेकाले थप केही गर्न सकेनौँ।’
क्रिकेट संघको छनोटमा परेर पनि खेलकुद परिषदले नाम काटेपछि खेलाडीहरु असन्तुष्ट बनेका छन्। आफ्नो मान्छेलाई टीममा पार्न छनोटमा परेका खेलाडीलाई हटाइएको उनीहरुको आरोप छ।
‘हामीलाई छनोट भएका छौँ भनेर बोलाइयो तर अन्त्यमा अर्कै खेलाडीलाई पठाइयो,’ एक खेलाडीले दैनिक सञ्चारसंग भने, ‘आफ्ना मान्छेलाई टीममा राख्नका लागि छनोट भएका खेलाडीको नाम काटियो, यो अन्याय हो ।’
उता सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक बहादुर सिंह क्रिकेट संघले छनोट गरेका खेलाडीलाई नै आफूहरुले टीममा समावेश गरेको दाबी गर्छन्।
‘अधिकार प्रयोग गरेमा हामीले खेलाडी छनोट गर्न पाउँछौँ, खेलाडी छनोटका लागि क्रिकेट संघलाई भनेका थियौँ,’ उनले भने, ‘उहाँहरुले छनोट गरेर पठाएका खेलाडीलाई नै हामीले टीममा राखेका हौँ ।’
खेलकुद परिषदले मात्रै खेलाडी छनोट गर्ने अधिकार हुँदा हुदै छनोटका लागि क्रिकेट संघमार्फत गएको उनको भनाई छ। छनोटमा नपरेको झोकमा खेलाडीहरुले अनावश्यक लाञ्छना लगाउन खोजेको उनको टिप्पणी छ।
‘प्रतियोगिताले खेलकुद परिषदलाई आधिकारिक मान्छ, क्रिकेट संघले छनोट गरेका शत प्रतिशत खेलाडीलाई राख्नु पर्ने भन्ने हुदैन,’ उनले भने, ‘यसमा हामीलाई पनि खेलाडी छनोट गर्ने अधिकार हुन्छ।’
