कार्यकर्ताले साथ छाड्दा निर्वाचन क्षेत्रमा बिना मगरलाई अप्ठेरो

विज्ञापन

Share post:

कञ्चनपुर। गत प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी बिना मगर १९ हजारभन्दा बढी मत अन्तरले विजयी भएकी थिइन्। तर, निर्वाचन क्षेत्रका कार्यकर्ताले उनको साथ छाड्न थालेपछि आगामी निर्वाचनमा उनलाई कठिनाइ पर्ने देखिएको छ।

तत्कालीन नेकपा विघटन पश्चात् एमाले र माओवादी ब्यूँतिएदेखि माओवादी केन्द्रका यस क्षेत्रका कयौँ नेता कार्यकर्ताले पार्टी छोडेका छन्।

मगरको गृहनगर पुनर्वासका बीरबहादुर थापा (पातल) तत्कालीन नेकपा हुँदा कञ्चनपुरको अध्यक्ष थिए। माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किए पछि थापा माओवादी छोडेर एमालेमै समाहित भए।

यस्तै, पुनर्वासकै पदम पुजारा लगायतले पनि बिनाको छोडेका छन्। उनी अहिले एमाले पुनर्वास नगर कमिटीको अध्यक्ष छन्। यसपटकको स्थानीय तह निर्वाचनमा एमालेबाट पुनर्वासको मेयर लडेका उनी पराजित भएका थिए।

यस्तै, बिनाकै निर्वाचन क्षेत्र अन्गर्तत पर्ने बेलडाँडी गाउँपालिकामा माओवादीमा बलियो पकड रहेका मानिएका मोहन गिरी, पालिका उपाध्यक्ष लडेकी कल्पना गिरी लगायतले पनि माओवादी छाडेका छन्। उनीहरुलाई केही दिन अगाडि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए।

बेलौरी नगरपालिकाबाट माओवादीमा राजनीति गर्ने यज्ञ कँडेल, बलदेब बुडाल, राधाकृष्ण जोशी र प्रेमसिंह बोहरा, लालझाडी गाउँपालिकाका खेमराज ओझा लगायतको साथ पनि बिनाले गुमाएकी छन्।

निर्वाचन क्षेत्रमा निकटस्थहरुको साथ गुमाउँदा पार्टीलाई अगामी निर्वाचनमा क्षति पुग्न सक्ने माओवादीकै नेताहरु बताउँछन्।
‘लामो समयदेखि पार्टीमा आबद्ध नेता कार्यकर्ताले साथ छोड्दा अवश्य पनि संगठनलाई केही असर परेको छ,’ माओवादीका एक नेताले भने, ‘यसले परिणाम सुखद ल्याउँदैन, यसको केही असर स्थानीय तहमा पनि प¥यो।’

एकीकृत समाजवादीसंग चुनावी तालमेल गरेर निर्वाचन होमिएको माओवादी केन्द्रले ३० बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा क्षेत्र नम्बर १ मा पर्ने चार पालिकामध्ये बेलौरी नगरपालिकाको मेयर मात्रै जित्न सकेको छ।

नेपाली कांग्रेसले पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै तथा नेकपा एमालेले लालझाडी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित बेलौरी नगरपालिकाको उपमेयरमा बाजी मारेको छ।

एमालेको समर्थनमा ०७४ सालको निर्वाचन जितेकी बिना मगरले यसपटक पनि चुनाव लड्ने तयारीमा छिन्।
यसपटक पनि उनले गठबन्धनबाट साझा उम्मेदवार भएर चुनाव लड्न चाहेकी छन्। त्यसैले सत्तारुढ गठबन्धनमा कञ्चनपुर १ मा माओवादी केन्द्रको सशक्त दाबी छ।

यद्यपी नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले गठबन्धन नगरेर एक्लै चुनावमा जाने निर्णय गरिसकेको छ। यहाँबाट कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षका लागि दिवान बिष्टको एकल नाम सिफारिस समेत गरेको छ।

२०७० को संविधानसभा चुनावमा मगर कांग्रेसका बिष्टसंग पराजित भएकी थिइन्। ०७४ मा भने मगरले एमालेको समर्थनमा उनै कांग्रेसका बिष्टलाई पराजित गरेकी थिइन्।

विष्टलाई वामगठबन्धनबाट माओवादीकी मगरले १९ हजार ५ सय ८४ मतान्तरले पराजित गरेकी थिइन्।
मगरले ३९ हजार २१ मत प्राप्त गरेकी थिइन् भने विष्ट १९ हजार ४३७ मतमा खुम्चिएका थिए।

ताजा समाचार