बाढीपीडीत सुकुम्बासीको बिचल्लीः जंगलमा बास, खान छैन गाँस

विज्ञापन

Share post:

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ बनहरा सुकुम्बासी बस्तीका रामबहादुर सुनार बस्ती नजिक जंगलमा टहरा बनाइरहेका छन्। शुक्रबार राती बनहरा नदीको बाढी बस्ती पस्दा उनको घर, भित्ररहेका लत्ताकपडा, खाद्यन्न सबै बगायो।

नदीमा बाढी घट्दै गएपछि बनहरा बस्तीमा फर्किर उनी राती ओत बस्नका लागि त्रिपाल राखिरहेका हुन। बनहरा सुकुम्बासी बस्तीका बाढीपीडित कोही नजिकैको सरस्वती माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका छन्।

कोही बस्ती नजिक बस्नका लागि त्रिपाल टागिरहेका छन् भने कोही त बाढीले क्षति पु¥याएको घरमा खाना पकाउन भाँडाकुडा भेटिन्छन् कि भनेर खोजीमा छन्।

शुक्रबार राती बनहरा नदीको बाढीले बस्ती तहसनहस पारेको छ। ‘दिनमा पानी पर्ने/रोकिने गरेको थियो, राती ११ बजेदेखि फेरी पानी पर्न सुरु भयो, १ बजेतिर खोला पुरै भरियो,’ रामबहादुरले भने, ‘हरेक वर्ष खोला त आउँछ, केही नहोला सोचेका थियौँ, त्यस पछि एक्कासी बाढी बस्तीमा पस्यो, लत्ताकपडा खाद्यन्न, भाडाकुडा केही बचाउन सकेनौँ, धौ धौ भागेर ज्यान जोगाउन सफल भएका छौँ ।’

बाढी प्रभावित बनहरा शिविरका सुकुम्बासी बिचल्लीमा परेका छन्। वि.सं. २०६२ सालदेखि बसोबास गर्दै आएका बस्तीमा ३० परिवार बस्छन्। जसमध्ये २६ घरमा बाढीले बगाएको छ।

‘नदीले उताबाट धकेल्छ, याताबाट वनले धपाउँछ, प्रशासनले बाच्नुहोस् भन्छ, कहाँ जाने हामी ?’ स्थानीय बहादुर कामी प्रश्न गरे। वर्षेनी बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरुलाई नहेरेको बनहराका सुकुम्बासीको गुनासो छ।

बनहरा शिविरका स्थानीयहरु अहिले बस्ती नजिकै जंगलमा त्रिपाल टागेर बसेका छन्।

बाढीले तहसनहस बनेको ठाउँ नजिकै जंगलमा बनहरा शिविरकी देवकी विष्टले त्रिपाल टागेकी छन्। तर उनीसंग ओढ्न बिछ्याउन नत कपडा नै छन् नत खानका खाद्यन्न नै।

‘राति एक्कासी बाढी आयो, बालबच्चा काखमा च्यापेर भागे, सरसमान जोगाउन सकिएन,’ उनले भनिन्, ‘बाख्रा, लत्ताकपडा कहाँ पुगे, अहिले जंगलमा बस्नु परेको छ, खानलाई अन्न छैन ।’

माटोले भरिएर बस्तीमा बाँकी रहेका घरमा समेत बस्नै नसकिने अवस्था रहेको मानध्वज लुहार बताउँछन्। उनका अनुसार बनहरा नदीमा तटबन्धन नहुँदा बाढी बस्ती पसको हो।

‘बस्तीतिर तटबन्धन छैन, उतापट्टै तटबन्धन छ, त्यसैले बाढी बस्ती पस्यो ।’ उनले भने, ‘हेर्नका लागि सबै आउँछन् तर अहिलेसम्म हामीहरुको पीडा कसैले सुनेको छैन ।’

केही संघसंस्था थोरै चामल, दाल दिए पनि पकाउने भाडाकुडा नभएको स्थानीयको गुनासो छ। चामल पाएका छौँ, पकाउनलाई भाडा छैनन्, कहाँ पकाउने? कसरी पकाउने? बस्तीमा पानी पनि छैन्।’ माध्वजले प्रश्न गरे।

वर्षेनी बाढीले दुख दिँदै आए पनि अहिलेसम्म यसको दीगो व्यवस्थापन हुन नसक्दा पीडा खेप्नु परेको देवकी विष्ट बताउँछिन्। ‘वर्षेनी बाढी आउथ्यो, तर यसपटकको जस्तो बाढी कहिल्यै देखेनौँ ।’ उनले भनिन्।

आम्दानीको स्रोत अटोमा बाढीले क्षति पु¥याउँदा रोजिरोटी गुमेको लक्ष्मण विष्ट बताउँछन्।
‘लत्ताकपडा, खाद्यन्न सबै बाढीले बगाउँदा घरबारविहिन हुनु परेको छ, अहिले विद्यालयमा आश्रय लिएका छुँ,,’ उनले भने, ‘अटो चलाएर परिवार पालिरहेको थिए, बाढीले त्यो पनि राखेन, अब के गर्ने ?”

बाढीले घरबारविहिन बनाउँदाको पीडासंगै उनलाई अटो किन्न साहुबाट लिएको ऋणको चिन्ताले पिरोलेको छ। ‘मजदुरी गरेर एक लाख जम्मा गरेको थिए, दुई लाख ऋण लिएर अटो किने, मासिक ६ हजार रुपैयाँ ऋणको ब्याज बुझाउनु पर्छ,’ उनले भने, ‘कमाइ गर्ने स्रोत नै बाढीले नराखे पछि समस्या भएको छ ।’

बनहरा नदीमा आएको बाढीले शुक्लाफाँटामा ठूलो क्षति गरेको मेयर रणबहादुर महराले बताए। ‘बाढीले भौतिक रुपमा ठूलो क्षति गरेको छ, वडा नं. १२ मा झोलुंगे पुल बगाएको छ, खेतबाली नष्ट गरेको छ, बनहराको सुकुम्बासी बस्ती तहसनहस भएको छ,’ उनले भने, ‘वडा नं. ८ मा ३० वटा बिजुलीका पोल बगाएको छ, खेत र सडक कटान गरेको छ ।’

बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिएको उनले बताए। ‘बनहरा र वडा नं. १२ का बाढी प्रभावितलाई सुरक्षित स्थानमा राखेका छौं,’ उनले भने, ‘उनीहरुको खाने, बस्ने व्यवस्था मिलाएका छौं, प्रदेश र संघ सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्दछौं।’

ताजा समाचार