कञ्चनपुर। महेन्द्रनगर माध्यमिक विद्यालयले भीमदत्त नगरपालिकाको निर्णय कार्यान्वयनमा अटेरी गरेको छ।
विद्यालयको व्यवस्थापन समिति र प्रधानाध्यापकले भीमदत्त नगरपालिकाको ‘तहगत प्रधानाध्यापकको व्यवस्था’ गर्ने निर्णयको बेवास्ता गर्दै एक वर्षसम्म निर्णय कार्यान्वयनमा ल्याएको छैन।
०७८ चैत्र २ गते भीमदत्त नगरपालिकाले तहगत प्रधानाध्यापकको व्यवस्था गर्ने निर्णय गरेको भन्दै मातहतका सामुदायिक विद्यालयलाई माथिल्लो तहको स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्ने व्यवस्था गर्न पत्राचार गरेको थियो।
विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षक विनोद सिंह हाजिर भएको करिब एक वर्ष बित्नै लागेको छ। तर, महेन्द्रनगर माध्यमिक विद्यालयले भने नगरपालिकाको निर्णय कार्यान्वयन गर्न आलटाल गरिरहेको छ।
विद्यालयमा निम्न माध्यमिक तहको स्थायी शिक्षक चन्द्रकला पन्तले नै प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेकी छन्। पन्तले नगरपालिकाको निर्णयको बेवास्ता गर्दै एक वर्ष पुग्नै लाग्दा पनि प्रधानाध्यापक छाड्न चाहेकी छैनन्।

‘अवैधानिक तरिकाले प्रधानाध्यापक चलाइरहनु भएको छ, शिक्षा ऐन अनुसार तह अनुसारको स्थायी शिक्षक प्रधानाध्यापक हुनुपर्छ,’ उनले भने, ‘नगरपालिकाको ताकेता तथा निर्णयलाई अवेज्ञा गरिएको छ, नगरका अन्य विद्यालयमा निर्णय कार्यान्वय भइसक्यो, यहाँ मात्रै यस्तो छ ।’
उनका अनुसार एक वर्ष अगाडि दर्ता हुनु पर्ने पत्र अचेल केही दिन अगाडि मात्रै विद्यालयमा दर्ता भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण जोशी (बोक्सर) छलफल भइरहेकाले दशैँ पछि विवाद टुङ्गो लाग्ने बताउँछन्।
‘नियम अनुसार बिनोद सरले पाउनु पर्ने हो, उहाँ (चन्द्रकला) को ३९ वर्षसम्म प्रधानाध्यापक बसे अब केही महिना मात्रै भएकाले व्यवहारिक हिसाबले प्रधानाध्यापक पाउनु पर्छ भन्ने हो,’ उनले भने, ‘दशैँ बाहिर छलफल गरेर यो विवाद टुङग्याउछौँ ।’ उता यस बारेमा प्रधानाध्यापक पन्तसंग बुझ्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।