महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका पुराना नेताका रूपमा चिनिन्छन्– दिवान विष्ट। त्यहाँ कांग्रेसको राजनीति संस्थापन इतर समूहनिकट मानिने विष्टकै वरिपरि रहन्छ।
संविधान सभा सदस्यसमेत रहेका विष्टको यसपटक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनाव लड्ने योजनामा माओवादी केन्द्रकी बिना मगर तगारो बनेकी छन्।
सत्तारुढ गठबन्धनबाट कञ्चनपुर १ मा माओवादी केन्द्रकी बिना मगरले टिकट पाउने पक्का भएको छ। मगरलाई रोक्न केन्द्रमा दबाब बनाउन कञ्चनपुर १ मा कांग्रेसले गठबन्धन नगर्ने निर्णय गर्दै विष्ट गठबन्धनको विपक्षमा उभिएका थिए।
वि.सं. २०७० को संविधान सभामा विजयी विष्ट ०७४ मा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादीकी मगरसँग १९ हजार ५ सय ८४ मतान्तरले हराएकी थिइन्। मगरले ३९ हजार २१ मत प्राप्त गरेकी थिइन् भने विष्ट १९ हजार ४३७ मतमा खुम्चिएका थिए।
यसपटक उनै मगरलाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ छाडेर विष्ट प्रदेशमा झर्ने भएका छन्। प्रतिनिधि सभा छाड्नुपरे कञ्चनपुर प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(२) बाट चुनाव लडेर सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि प्रस्तुत हुने विष्टले बताएका छन्।
आगामी चुनावको विषयमा केन्द्रित रहेर उनै विष्टसँग गरेको संक्षिप्त कुराकानीको सम्पादिक अंश:
कञ्चनपुर १ मा सत्तारुढ गठबन्धनबाट तपाईंकी प्रतिस्पर्धी माओवादी केन्द्रकी बिना मगरले टिकट पाउने भइछन्, होइन?
कञ्चनपुरका तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ माओवादी तथा २ र ३ कांग्रेसले पाउने सहमति भएको सुनिएको छ। ०७४ मा जसले जितेको हो उसैलाई क्षेत्र छाड्ने भन्ने ५ दलहरूबीच सहमति भएको छ।
त्यसले गर्दा कञ्चनपुर १ मा माननीय बिना मगरजी चुनाव जितेकाले हामीले पाउदैनौँ कि भन्ने हो। जसरी कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरजी ०७० जितेर ०७४ मा गठबन्धनसँग हारेको क्षेत्रमा प्रेमबहादुर आलेजीले जित्नुभयो, त्यो क्षेत्र अहिले एकीकृत समाजवादीलाई नै छाड्नुपर्ने भनिएको छ।
त्यसको आधिकारिक निर्णय आइसकेको छैन। टिकट बाँडफाँट नहुञ्जेलसम्म अझै केही भन्न सकिने अवस्था छैन, जे पनि हुनसक्छ। म पनि प्रतिनिधि सभा प्रत्यक्षतर्फको टिकटका लागि लागिरहेको छु।
वि.सं. २०७० चुनाव जिते, ०७४ मा गठबन्धनका कारण हार बेहोर्नुपर्यो। त्यसपछि ५ वर्ष जनतासँग बसेर काम गरेका छु। त्यसैले पार्टीले सर्वसम्मत सिफारिस गरेकाले टिकट पाउनुपर्छ भन्ने हो, पार्टीमा कुनै समस्या छैन।
त्यसो भए लामो समयदेखि संघमा चुनाव लड्दै आउनुभएको तपाईं यसपटक के गर्नुहुन्छ? प्रदेशतिर झर्ने चर्चा छ नि?
चुनाव लडेका हामी नेताहरुको पार्टी केन्द्र र नेताहरूले व्यवस्थापन गर्नुपर्छ। त्यो क्षेत्रमा चुनाव लडेको, संगठनमा काम गरेको नेताको व्यवस्थापन भएन भने गठबन्धनको के औचित्य भयो र!
कसैलाई बाहिर राखिदिने कसैलाई त भइस् भनेर भन्दा त गठबन्धन बलियो हुँदैन। केन्द्रले गठबन्धन गरेपछि त्यो गठबन्धन जादुको छडी होइन, त्यसैले त्यो क्षेत्रको नेतालाई मिलाएर लैजानुपर्छ।
मैले अहिले प्रदेश सभामा चुनाव लड्नुपरेमा मुख्यमन्त्री पाउनुपर्छ भन्ने हो। केन्द्रदेखि प्रदेशसम्मै बहुमत कसैको आउँदैन, गठबन्धनकै सरकार बन्छ। त्यहीँ केन्द्रदेखि प्रदेशसम्ममा आलोपालोमा मुख्यमन्त्री भन्ने कुरा आएको छ।
काठमाडौं ओहोरदोहोर बाक्लै छ, यस विषयमा पार्टी नेतृत्वसँग कुराकानी गर्नुभएको छ?
यस विषयमा प्रधानमन्त्रीज्यूसँग २/३ पटक बसिसकेँ। उहाँले पनि प्रदेशमा व्यवस्थापन गर्ने आश्वासन दिनुभएको छ। गठबन्धनले निर्णय नगर्दासम्म मेरो संघमा दाबी हो। यदि गठबन्धनमा कञ्चनपुर १ माओवादीको भागमा परेमा म प्रदेश सभा १ (२) मा लड्छु। सुदूरपश्चिमको मुख्यमन्त्रीका रूपमा दाबी प्रस्तुत गर्छु।
माओवादीबाट खगराज भट्टलाई पनि भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ, अन्य धेरै नेता पनि मुख्यमन्त्रीको गृहकार्यमा छन्, तपाईंले सहजै मुख्यमन्त्री पाउनुहोला? अहिले मुख्यमन्त्रीमा दाबी गरेर अन्तिममा मन्त्री बन्ने हल्ला छ नि?
आलोपालोमा मुख्यमन्त्री भनिएको हो। माओवादीले खगराज भट्टजीलाई अगाडि सारेको छ। हाम्रोबाट वीरबहादुर दाइ (वीरबहादुर बलायर) हो। उहाँ प्रदेशमा नलड्ने, संघमै लड्ने भएपछि कांग्रेसबाट आलोपालोमा मैले नेतृत्व गर्ने भन्ने आएको छ। प्रदेश मुख्यमन्त्री सुनिश्चित भए प्रदेशमा मात्रै लड्छु।
संघीय र प्रादेशिक कार्य समितिले गठबन्धन नगर्ने निर्णय गरेको छ, तपाईंको अहिले गठबन्धनप्रतिको धारणा के हो?
नगर, प्रदेश र संघीय क्षेत्रीय समितिले क्षेत्रमा हामी बलिया छौँ, एक्लै चुनाव जित्छौँ भनेर एक्लै लड्ने निर्णय गरिसकेका छन्। केन्द्रले निर्णय हाम्रो पक्षमा गरेमा गठबन्धनबाट ५ दलको सहयोग लिनुपर्छ।
मेरो पक्षमा भएन भने मात्र त्यसपछि के गर्ने भन्ने आउँछ। अहिले हामी आशावादी छौँ। क्षेत्र नम्बर १ मा दुई पालिका जितेका छौँ।
दलहरूमा पनि हामी पहिलो, दोस्रोमा एमाले र तेस्रोमा माओवादी छ। त्यसैले निर्णय हाम्रो पक्षमा गरिदिनुपर्ने माग गरेका छौँ। निर्णय पर्खेर बसेका छौँ।
८० सिट कांग्रेसले पाए पनि चुनाव लडेका ८० जना हामीहरू कांग्रेसबाट चुनाव लड्न बञ्चित हुदै छौँ।
सबै बसेर सरसल्लाह गरेर कसरी जाने, कस्को कसरी व्यवस्थापन भयो छलफल गर्छ। नेताहरूको व्यवस्थापन गर्न नसकेमा समस्या छ। त्यो केन्द्रले मिलाउनुपर्छ। प्रदेशका साथीहरू हामी निरन्तर छलफलमा छौँ।