जनआन्दोलनका घाइते तेजबहादुर, ह्विलचियरमा गर्छन् व्यापार

विज्ञापन

Share post:

कञ्चनपुर । ह्विलचियर खुद्रा सामानले भरिभराउ छ । अगाडिपट्टी पानीका बोतल, नजिकै चाउचाउ, बिस्कुटका कार्टुन राखिएका छन् ।

ह्विलचियर पछाडी फलाम छोडेर सामान राख्ने बनाइएको छ । भीमदत्त नगरपालिका–४ बसपार्कस्थित यो ह्विलचियरमा सानो कालो झोला भिरेर बसेका भेटिन्छन्, ५० वर्षीय तेजबहादुर रावल ।

शारीरिक रुपमा अशक्त भएका मानिसहरु ह्विलचियर, फलामे छड लगायत साधनलार्ई आफ्नो हिडडुलको सारथीको रुपमा प्रयोग गर्छन् । रावलले भने ह्विलचियरलाई हिडडुलको साधन मात्रै होइन, परिवार पाल्ने सहारा पनि बनाएका छ ।

उनी एक दशक भन्दा बढि समयदेखि ह्विलचियरमा खुद्रा सामान बेचेर घरखर्च जोहो गर्दै आएका छन् । वि.सं. २०६२/०६३ सालको जनआन्दोलनका रावलको क्रममा डडेल्धुरामा कम्मर भाँचिएर मेरुदण्डमा रड राखिएको छ ।

“खुट्टाले काम नगर्दा उभिनै सक्दैन, हातमा पनि रड छ,” उनले भने, “छोराछोरीले ह्विलचियरमा राख्ने/उतार्ने गर्छन्, त्यसमै थोरै सामान राखेर बसपार्कमा बेचेर घरखर्च चलेको छ ।”

डडेल्धुराको अमरगढी नगरपालिका–६ का रावल महेन्द्रनगरमा परिवार सहित कोठा भाडामा लिएर बसेका छन् । वि.सं. २०४२ सालमा तराइ झरेका उनी जनआन्दोलन पूर्व महेन्द्रनगरबाट पहाडी रुटमा बस चलाउँथे ।

आन्दोलनमा घाइते भएका उनले उपचारको लागि खर्च कम भएर त्यस बेला बस बिक्री गरे । “०६५ सालमा अस्पतालबाट डिस्चार्ज भएपछि महेन्द्रनगर बसपार्कमा ठेलामा व्यापार सुरु गरे, सडक छेउ, बसपार्कभित्र ठेला राख्थे, त्यो बेला ठेलाबाटै राम्रै कमाइहुन्थ्यो,” उनी भन्छन्, “केही वर्ष पछि ह्विलचियरमै सामान राखेर बेच्न थालेको हो ।”

तेजबहादुर बिहानै डेराबाट सामान भरिएको ह्विलचियर लिएर बसपार्क निस्किन्छन् । दिनभर बसपार्कमा ह्विलचियर घुमाउँदै सामान बेच्ने उनको दिनचर्या नै हो ।

दिनभरी ह्विचियरमा सामान बेचेर दुई हजारदेखि तीन हजारसम्मको कारोबार हुने गरेको तेजबहादुर सुनाउँछन् । “बसपार्क भित्रका यात्रु, गाडी चालक, साहुहरु ग्राहक हुन, दैनिक २/३ हजारको सामान बिक्री हुन्छ,” उनले भने, “दैनिक पाँच सय रुपैयाँ सहकारीमा जम्मा गर्छु, खानलाउनलाई पुगेको छ ।”

ह्विलचियरमै सामान बिक्री गरेर कमाएको पैशाबाटै तीन छोरी र दुई छोरालाई बोर्डिङ्ग स्कुलमा अध्यापन गराउन सकिएको उनको भनाइ छ । “जेठी छोरीको बिहे गरेर अन्माइसके, अर्का दुई छोरी र एक छोराले कक्षा १२ पास गरेका छन्, कान्छा छोरा अहिले कक्षा ११ मा पढ्छन्,” उनले भने, “सबै सन्तानलाई कक्षा १० सम्म बोर्डिङ्ग स्कुल पढाएको थिए ।”

छोराछोरीले रोजगारी पाएमा परिवारलाई सहारा पुग्ने तेजबहादुरको विश्वास छ । “पढेलेखेका भए पनि रोजगारी पाएका छैनन्, केही काम पाए आफ्नो खर्च चलाउन सक्थे, परिवारलाई सहारा पुग्थ्यो,” उनी भन्छन्, “घाइते भत्ता भनेर पाइने १२ हजार कोठा भाडा तिर्नमै ठिक्क हुन्छ, पसलबाट आएको पैशाले बिहान बेलुकाको घरखर्च चल्छ ।”

काम गर्नका लागि शारीरिक रूपमा शसक्त मात्रै नभएर इच्छा शक्ति पनि चाहिने उनी बताउँछन् । “काम गर्नका लागि इच्छा शक्ति हुनुपर्छ, लगनशील भएर एउटा काममा लागेमा सफलता मिल्छ ।” उनको सुझाव । (रासस)

ताजा समाचार