महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित पुरानो बजार ब्रह्मदेवका गोपालसिंह धामीलाई होटलमा आउने ग्राहकलाई खाना खुवाउन भ्याइ नभ्याइ छ। ब्रह्मदेव बजारमा रहेको उनको होटलभित्र ग्राहक भरिभराउ छन्।
बस्ने सीट खाली कहिले होला भनेर कोही होटल बाहिर कुरेर बसेका छन् भने कोही सीट नपाउने देखेर अन्यत्रै गइरहेका पनि छन्।
श्रीमती, छोरा छोरी गरेर होटलमा जुटेका धामी परिवार सकेसम्म आउने ग्राहकलाई खाना खुवाएरै पठाउने प्रयासमा छन्।
भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरीमा लागेको नवरात्र मेलाले उनीहरुको व्यस्तता बढाइदिएको हो।
वि।सं। २०७२ सालदेखि ब्रह्मदेवमा होटल व्यवसाय गर्दै आएका गोपालसिंह ०७७ सालपछि पहिलो पटक होटलमा यति धेरै व्यस्त भएको सुनाउँछन्।
कोरोना महामारीले गर्दा दुई वर्ष मेला आयोजना हुन सकेन। भारतीय तीर्थालु ब्रह्मदेव बजार आउनबाट रोकिए पछि त्यसको प्रभाव यहाँका व्यापारीमा परेको थियो।
भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको नेपाली ब्रह्मदेव बजारमा दुई वर्षपछि केही यता चहलपहल बढेको छ।
‘कोरोना पछि चहलपहल हुन सकेको थिएन, गत फागु पूर्णिमामा पनि मेला लाग्यो तर यतिको भीड थिएन,’ धामी भन्छन्, ‘कोरोनाको डरले मानिस बाहिर निस्केनन्, अहिले व्यापार राम्रै भइरहेको छ।’
धामीको ब्रह्मदेवमै कस्मेटिक पसल पनि छ। सँगै सानो झुप्रोमा बेच्न खेलौनाका सामानहरु पनि राखिएका छन्।
सुनिलदत्त जोशीको पनि ब्रह्मदेव बजारमा फेन्सी पसल छ। अरु समय फुर्सदिलो भएर पसलमा बसिरहने उनी पनि अहिले पसलमै व्यस्त छन्।
‘फागुनदेखि असार र दसैँको नवरात्रीको यो समयमा भारतीयहरु सिद्धनाथ मन्दिरको दर्शन गर्न आउने हुनाले कारोबार हुन्छ,’ उनले भने, ‘अरु समयमा त पसलमा दिन काट्नै गाह्रो हुन्छ, अहिले केही नभए पनि चहलपहल बढेको छ।’
अरु समयमा फुर्सदिला हुने ब्रह्मदेवका पसलेहरु मेलाका कारणले अहिले व्यस्त छन्। भारतीय दर्शनार्थीलाई लक्षित गरेर ब्रह्मदेव बजारमा अहिले छाप्रो बनाएर खेलौना लगायतका स–साना पसलहरु पनि थापिएका छन्।
मेला भर्न आउने भारतीय दर्शनार्थीले जुत्ता, चप्पल, टर्च, छाता, खेलौना, क्रिम, भिक्स, बामलगायत रेडिमेड कपडाहरू बढि रुचाउने गरेको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले बताए।
पूर्णागिरि मन्दिरको दर्शन पछि ब्रह्मदेव वा महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिरको समेत दर्शन पश्चात् मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।
त्यसैले मेला भर्न भारतको उत्तराखण्ड र उत्तरप्रदेशका विभिन्न ठाउँबाट तीर्थालु सिद्धनाथ मन्दिरको दर्शन गर्न ब्रह्मदेव पुग्ने गरेका छन्।
सिद्धनाथ मन्दिरमा पछिल्लो समयमा दैनिक १० हजार भन्दा बढी भारतीय तीर्थालु दर्शनका लागि पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महतले बताए।
‘यो मेला नवरात्र अवधिसम्म चल्छ, त्यसपछि विस्तारै यहाँ चहलपहल पनि कम हुदै जान्छ,’ उनले भने, ‘अहिले भारतीय तीर्थालु दिनहुँ बढ्दै गएका छन्।’
भारतीय दर्शनार्थीको चहलपहलले कोरोना पछि सुनसान बनेको ब्रह्मदेव बजार गुलजार मात्रै बनेको छैन, यसले कोरोनाले थलिएको यहाँको व्यवसायसमेत चलायमान हुने व्यवसायीले अपेक्षा लिएका छन्।





