महेन्द्रनगर। ठूला चाडबाड सुरु भएसंगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन्। नेपालीहरुको महान चाड बडा दशैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिदा गाउँबस्ती खेलमय बनेका हुन।
घरभन्दा टाढा रहेका मानिसहरु चाडबाडको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ। जिल्लाका विभिन्न ठाउँमा चाडबाडलाई लक्षित गरेर साना ठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–१ हात्तिथलामा आदर्श युवा समाजले क्रिकेट प्रतियोगिता आयोजना गरेको छ।
“प्रत्येक वर्ष दशैँ र तिहारको अवसरमा क्रिकेट प्रतियोगिता राख्ने गरेका छौँ,” आदर्श युवा समाजका अध्यक्ष ज्ञानेश्वर जोशीले भने, “चाडबाडमा खेलको निहुँमा साथीभाइहरुसंग भेटघाट हुन्छ, साथै विभिन्न ठाउँका खेलाडी आउने हुनाले खेलाडीलाई सिक्ने मौका पनि हुन्छ।”
उनका अनुसार प्रतियोगितामा बेदकोट नगरका प्रत्येक वडाका एक÷एक टीम गरेर १० टीमको सहभागीता रहेको छ। प्रतियोगिताको विजेतालाई नगद रु. एक लाख एक सय र उपविजेतालाई रु. ५० हजार नगद पुरस्कार प्रदान गरिने छ।
“प्रत्येक वडाबाट एउटा टीम आउँछ, त्यहाँबाट खेलाडी छनौट गरेर नगरको टीम पनि तयार गरिन्छ ।” अध्यक्ष जोशीले भने।
बेदकोट नगरपालिका–३ भम्कामा पनि फुटबल प्रतियोगिता आयोजना गरिएको छ। चाडबाडमा सबै फुर्सदमा हुनाले यस समयमा आयोजना गरिएका खेलले सामाजिक सद्भाव, एकता तथा भाइबन्धुत्वको भावना विकास हुने भम्कामा फुटबल प्रतियोगिता आयोजना गरिरहेका सेक्युर्ड नेपालका अध्यक्ष प्रजापति भट्ट बताउँछन्।
“विद्यार्थीहरुको विदाको समय छ, चाडबाडले सरकारी कर्मचारी तथा घरबाट टाढा रहेकाहरु घर फर्किएका छन्, खेतीपाती सकेर चाडबाडको यो समयमा अधिकतर फुर्सदमा छन्,” उनले भने, “त्यसैले चाडबाड लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको छ, खेलले चाडबाडको समयमा फुर्सदमा रहेकाहरुलाई जोड्ने काम गरेको छ ।”
विद्यालय विदा भएर फुर्सदिला बनेका विद्यार्थी तथा युवायुवतीहरु चाडबाडको समयमा कुलतमा फस्ने खतरा हुनाले खेलुकदले कुलतमा फस्नबाट पनि जोगाउन सक्ने उनको भनाइ छ।
प्रत्येक वर्ष चाडबाडको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए। कञ्चनपुरको ९ वटै स्थानीय तहका गाउँबस्ती शहरबजारका युवायुवतीदेखि वृद्धवृद्धासम्म आयोजना गरिएका ‘खसी कप’ तथा नगद धनराशी पुरस्कारका खेलकुद कार्यक्रममा झुमेका छन्।
कञ्चनपुरको भीमदत्त, दोधारा, बेदकोट, बेलडाँडी, पुनर्वास, बेलौरी लगायतका ठाउँमा क्रिकेट, फुटबल, ब्याडमिन्टर, भलिबल लगायतका खेल आयोजना भइरहेका छन्।
चाडबाड सुरु भएसंगै खेलकुदका गतिविधि ह्वात्तै बढेको कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले बताए। उनले भने, “चाडबाडले अहिले खेलकुद गतिविधि बढेका छन्, यसले खेल विकासमा टेवा मात्रै पुग्दैन, साथीभाइहरुसंग भेटघाट हुनाले रमाइलो पनि हुन्छ ।” (रासस)